
काठमाडौं । राष्ट्रिय सभा सांसदहरुले आफूहरु मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसद जस्तो भएको गुनासो गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा सांसदहरुले राज्यले दिएको र स्वयम व्यक्तिगत रुपमा पाउनु पर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरुले पार्टीभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे । उनीहरुले राष्ट्रिय सभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा समेत प्रतिनिधि सभा सदस्य भन्दा तल राखिने गरेको भन्दै आपत्ति जनाए ।
सांसद कृष्णप्रसाद पौडेलले समितिले बैठकमा छलफल गरी निर्देशन दिएका विषयमा प्रभावकारी रुपमा कार्यान्वयन भए/नभएको अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले छलफलपछि बाहिर परिणाम कस्तो आयो भन्ने विषयमा जानकारी लिएर समितिले गर्ने काम परिणाममुखी हुनुपर्ने बताउनुभयो ।
सांसद विमला घिमिरेले राष्ट्रिय सभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादा क्रम सच्याउनुपर्ने बताउनुभयो । सांसद कमलादेवी पन्तले प्रतिनिधि सभा नचल्ने बित्तिकै राष्ट्रिय सभा नचल्ने अवस्था भएर राष्ट्रिय सभाको औचित्य नभएको महशुस भएको बताउनुभयो । सांसद सिंगबहादुर विश्वकर्माले राष्ट्रिय सभा सदस्यको हैसियत वडा सदस्य जतिको समेत नभएको गुनासो गर्नुभयो ।
सांसद शारदादेवी भट्टले राष्ट्रिय सभाका सांसदले कुनै अधिकार नपाएको बताउनुभयो । उहाँले राष्ट्रिय सभामा बोलेका र समितिमा छलफल भएका कुनैपनि विषय कतै कार्यान्वयनमा नआएको गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्