
काठमाडौं । जनतालाई सुविधामाथि सुविधा थप्न महानगरको अवधारणा आएकोे हो । तर अधिकांश महानगरको सोच सुविधा कम, कर बढाउने प्रतिस्पर्धामा केन्द्रित हुने गरेको छ । हुँदाहुँदा वर्षौंदेखि रत्नपार्कमा रहेको बसपार्क अस्तित्वविहीन मात्र बनाइएको छैन, पिक एण्ड ड्रपको हतारोले सेवाग्राहीलाई पर्नु मर्का परेको छ ।
२०७१ सालमा २ वर्षमा सम्पन्न हुने गरी काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बसपार्कमा आधुनिक भ्यू टावर निर्माण गर्ने भन्दै खाली गराइएको ८ वर्ष बढी भैसकेको छ । पछिल्लो पटक थपिएको ५ वर्षको समय सकिएको वर्षदिन पुग्नलाग्दा समेत टावर निर्माणले गति लिन सकेको छैन ।
एकातिर सवारी साधनको चापले आवागमनमा समस्या परेको भन्दै ट्राफिक प्रहरी पार्किङ हटाउँदै छ भने अर्कातिर बसपार्कको अभावमा रत्नपार्कको व्यस्त सडकलाई नै अस्तव्यस्त बनाइएको छ ।
महानगरपालिकाले केही महिना अघिदेखि पुरानो बसपार्कमा नै काठमाडौंबाट पूर्वजाने बस सञ्चालनको अनुमति दिएको छ । व्यवसायीका अनुसार यहाँबाट हरेक दिन ६० देखि ८० वटा सम्म बसको रुटपरमिट दिएको र हरेक २० देखि २५ मिनेटको अन्तरमा बस छुट्ने गरेको छ । बस चढ्ने एकातिर टिकट पाइने अर्कोतिरको अन्यौलले यात्रुले सास्ती खेप्न परेको छ । उनीहरु व्यवसायी र महानगरको चेपुवामा आफूहरु परेको बताउँछन् ।
पुरानो बसपार्कबाट संचालन हुने सार्वजनिक सवारीलाई खुलामञ्चको एक भागमा सारि अस्थायी रुपमा प्रयोग गरिएको थियो तर केही समयअघि महानगरपालिकाले बिना विकल्प खुृलामञ्च खुला राख्ने अभियान अन्र्तगत खुलामञ्चमा बस प्रवेशमा रोक लगाएको छ । एकातिर पिक एण्ड ड्रप प्रणाली लागु हुदाँ ट्राफिकले सानो सानो कुरामा चिट काट्ने अर्कोतिर यात्रुलाई चढ्न ओर्लन पनि समय नपुग्ने आक्रोस पोख्दै चालक सहचालकदेखि यात्रु विकल्प दिन आग्रह गर्छन ।
व्यक्तिका लहडपिच्छेका नियम लगाउनुअघि त्यो निर्णयले जनतामा पर्ने असरका विषयमा निर्णयकर्ता चनाखो हुन जरुरी छ । सुशासन भनेको राज्य प्रणालीमा जनताको गुनासो गर्ने प्रयत्न हो । भएको सुविधा खोसेर लथालिंग बनाउनु सुधार नभएर अपराध हो ।
प्रतिक्रिया दिनुहोस्