१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


म्याग्दीमा दुई दशकपछि हनुमान नाँच प्रदर्शन


78
Shares

म्याग्दी । दुई दशकपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा ऐतिहासिक महत्व बोकेको हनुमान नाँच प्रदर्शन गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा संस्कृतिको धरोहर हनुमान नाँच प्रर्दशन गरिएको हो । कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक पहिचानलाई जोगाउन निरन्तर सक्रिय मंकाःखलले एउटा छुट्टै विशेषता बोकेको आकर्षक एवं मनोरम नृत्यलाई महोत्सवको आर्कषकको रुपमा प्रस्तुत गरिएको बेनीका पुराना कलाकार अंगद श्रेष्ठले बताउनुभयो ।

हनुमान नाँच सम्बन्धि विभिन्न लेखरचनामार्फत प्रचारप्रसारमा सक्रिय अजयमिलन श्रेष्ठका अनुसार नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजयपछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.स. २०२० को दशकमा बेनीबजारमा पनि भित्रिएको पाइन्छ । हनुमान नाँचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् । भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो लट्ठी (डण्डी) हुन्छ ।

नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा (रिबन) का आकर्षक र रंगिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब ५ फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन् । नाँचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय सुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हुन्छन् ।

साेही नाँच सलामीको तालबाट आरम्भ हुन्छ । यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्नेसाम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् । नृत्य तालको समाप्ति पश्चात ५ ताल ‘तलिङ छ्यास’ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ ।