
म्याग्दी । म्याग्दीमा ‘थाली नाँच’ लोकप्रिय बन्दै गएकाे छ ।
२००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालिएको ‘थाली नाँच’ अहिले म्याग्दीमा मात्रै सीमित नरहेर संसारभर रहेका नेपालीहरुबीच लोकप्रिय बन्दै गएको हाे । हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृश्य निकै रोचक हुन्छ । सावधानीपूर्वक गरिने थाली नाँच मौलिक, आकर्षक र संयमित भएकाले लोकप्रिय बनेको हो ।
पछिल्लो समय थाली नाँच सम्बन्धी गीत पनि रेकर्ड भएकाले यसको लोकप्रियता झनै बढेको छ । देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव र सम्मेलनमा मात्र नभएर विदेशमा समेत थाली नाँच देखाउने गरिएको म्याग्दीका पुराना कलाकार धनकुमारी थापाले बनाउनुभयो । विश्वभर प्रख्यात थाली नाँचको उद्गम थलो भने म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला हो ।
चिमखोला विविध कला संस्कृतिले भरिएको गाउँ हो । एक गाउँ अनेक कला र संस्कृतिको उद्गम थलो चिमखोला सांस्कृतिक विविधताले चिनिएको छ । चिमखोलामा थाली नाँचसँंगै जुरेचल्ला, शर्माजाले, कलश जुधाउने, टोपा नाँच र भूमे खुशी बनाउन कालोमोसो लगाउने मौलिक संस्कृतिले चिनिएको छ ।
पात्लेखर्कका ७२ वर्षीय नर्गेद्र पुनले भूमे पूजाको अवसरमा सोरठी नृत्य शर्मा जाले, जुरे चल्ला, थाली नाँच, कलश र जुधाउने लगायतका संस्कृति प्रस्तुत गर्दै संस्कृतिलाई गाउँले संरक्षण गर्दै आएको बताउनुभयो। रघुगंगा गाउँपालिकाकाे चिमखोलाबाट ४ दशक अघि सुरु भएको थाली नाँचप्रति आकर्षण बढ्दै गएको छ । गीतको लय र शब्दसँंगै हातमा थाल राखेर गरिने थाली नाँच नेपालमा मात्र सीमित नभई सात समुन्द्रपारी प्रवाससम्म पुगेको छ ।
२०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नाँच प्रस्तुत गर्नुभएको थियो । २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थाली नाँचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । हातमा थाल राखेर नचाउने भएकाले यस नाँचलाई थाली नामाकरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्