२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इलामको फाल्गुनन्द विमानस्थलमा आजदेखि उडान सुरू


832
Shares

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान सुरू गरेको छ ।

एयरलाइन्सले हप्तामा एक पटक उडान गर्ने गरी सहमति गरे अनुरूप आइतबारबाट इलाम काठमाडौं उडान भर्न सुरु गरेको हो । नेपाल एयरलाइन्स (9N-ABU) को विमानले ७ जना यात्रु लिएर आइतबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको करिब एक घण्टामा इलाम अवतरण गरेको थियो । विमानले इलामबाट काठमाडौं फर्केर जाँदा ८ जना यात्रु लिएर गएको छ ।

साेही विमानस्थलमा प्रारम्भमा तारा एयरले इलाम नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । तर, यात्रु नपाएको भन्दै ताराले केही उडान भरे पश्चात उडान भर्न छोडेको थियो । त्यसपछि इलाममा अहिलेसम्म कुनै पनि विमानले उडान भरेका थिएनन् । तर आइतबारबाट उडान सुरु गरेको नेपाल एयरलाइन्सको जहाज संचालकका लागि पनि इलाम नगरपालिकाले पहल गरेको हो ।

इलाममा दार्जिलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका कारण नेपाल एयरलाइन्सलाई यहाँ उडान गर्न आह्वान गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो। इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उहाँको भनाइ छ ।

उता केही समय संचालन भएपछि बन्द भएको विमानस्थलमा पुन: संचालनमा आएपछि स्थानीयमा खुशीयाली छाएको छ । इलाममा ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको भएकाे पक्की विमानस्थल बनेको छ । तर अझै विमानस्थलमा तार बार, यात्रु प्रतिक्षालय र टावरकाे निमार्णसहित विमानस्थलसम्म पुग्ने पक्की सडक निमार्ण गर्ने काम बाँकी नै रहेको छ ।