२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


रुरु क्षेत्रधाम रिडीमा माघे भक्तजनको घुइचो


143
Shares

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा आजदेखि माघे संक्रान्ती धार्मिक मेला लागेको छ। कालीगण्डकी रुरु धाम क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देवताको दर्शनको लागि भक्तजनहरुको भिडभाड बढेको हो ।

माघे संक्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले मानिसले अन्जानमा गरेका सम्पुर्ण पाप नास हुने जनविश्वास रहेको पाइन्छ । कालीगण्डकीमा प्रत्येक वर्ष रुरु क्षेत्रमा परापुर्वकालदेखि नै जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको र यस वर्ष माघ ५ गतेसम्म धार्मिक मेला लम्बिने भएको छ ।

धार्मिक मेलामा नेपालसंगै छिमेकी मुलुक भारत उत्तर प्रदेश, महाराष्ट्रसम्मका हिन्दु धर्मालम्बीहरु रुरु क्षेत्रधाम रिडिमा स्नानको लागि आउने गर्दछन ।

धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट उत्पादन गरी ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागि रुरु क्षेत्रमा आएका छन ।

धार्मिक मेलामा होटल व्यवसायदेखि स्थानीय कृषि उत्पादन समेत बिक्रि वितरणको लागि रिडि बगरमा स्टलहरु राखिएका छन् । मेलामा गुल्मीको गुण, पाल्पाको सुन्तला, रुकुमको घाँजी लगायतका सरसमानहरु बिक्रिको लागि राखिएका छन ।

यसैगरी पाल्पाको राम्दी, केलादी, लगायतका स्थानमा पनि काली नदीमा स्नान गर्नेहरुको भिड लागेको छ ।