
काठमाडौं । पोखरामा भएको यति एयरलाईन्सको एटीआर विमान दुर्घटना आन्तरिक उडानको सर्वाधिक ठूलो दुर्घटना मानिएको छ । यो सहित नेपालको हवाई उड्ययन इतिहासमा हवाई दुर्घटनाको संख्या ५० पुगेको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणअनुसार यो ५० औं दुर्घटना हो । त्यस्तै, हालसम्म एक इन्जिनयुक्त ८ वटा दुर्घटना भएको तथ्यांक छ । हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।
आइतबारको पोखरा दुर्घटनाबाहेक हालसम्म यी हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भइसकेको छ । यसअघि गएको जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो ।
नेपालमा पहिलो पटक सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ जहाज बाराको सिमरामा दुर्घटना भएको थियो । यो नै नेपाली भूमिमा भएको पहिलो जहाज दुर्घटना थियो । त्यो दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए ।
आन्तरिकतर्फ ४७ जहाज दुर्घटना भएका छन् । यसबाहेक ३१ वटा हेलिकोप्टर र ७ वटा अन्तर्राष्ट्रिय उडानका जहाज दुर्घटना भएको रेकर्ड छ । नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् १९९२ मा ललितपुरकोे भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो । त्यो जहाज दुर्घटनामा एक सय ५७ जनाले ज्यान गुमाएका थिए । त्यही वर्ष नुवाकोटको घ्याङफेदीका भएको थाई एयरवेजको जहाज दुर्घटनामा एक सय १३ जनाको मृत्यु भएको थियो ।
आन्तरिक उडानतर्फ सन् २००० मा डडेल्धुरामा भएको नेपाल एयरलाईन्सको डीएचसी जहाज दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा म्याग्दीमा भएको तारा एयरको जहाज दुर्घटनामा २३, सन् २०१० मा ओखलढुंगामा भएको तारा एयरकै जहाज दुर्घटनामा २२ र सन् २०१२ मा मनोहराखोलामा भएको सीता एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।
यसैगरी नेपाली आकाशमा सन् २००६ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा एकैपटक २४ जनाले ज्यान गुमाएका थिए । हेलिकोप्टर दुर्घटनामा यो नै सबैभन्दा ठूलो दुर्घटना हो । २०७४ सालमा मंसिर १२ मा हुम्लाको सिमिकोटमा तारा एयरको जहाज दुर्घटना भएको थियो । जहाज रनवेबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो । २०७४ को जेठमा लुक्ला विमानस्थलमा समिट एयरको कार्गो जहाज दुर्घटनामा चालक र सहचालकले ज्यान गुमाएका थिए ।
सर्वाधिक दुर्घटना हुनेमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका जहाज जहाज छन् । नेपाल एयरलाइन्सका १५ जहाज दुर्घटना परिसकेको बताइन्छ । नेपाल एयरलाइन्सका १२ वटा डबल इन्जिन र सिंगल इन्जिन क्षमताका तीन जहाज दुर्घटनामा परेका छन् । यसबाहेक आन्तरिक उडानतर्फ नेपाल एयरवेज चार, एभरेस्ट एयरको एक, निकोन एयर दुई, स्काई दुई, गोरखा दुई, कस्मिक एक, यति पाँच, सांग्रिला एक, बुद्ध दुई, अग्नि दुई, तारा तीन, सीता तीन र समिट एयरको एक दुर्घटना भएका छन् ।
नेपालमा पहिलो पटक सन् १९७९ मा भीभीआईपी हेलिकोप्टर लाङटाङमा दुर्घटना भएको थियो । त्यो हेलिकोप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । हालसम्म सबैभन्दा बढी फिस्टेल एयरका ८ हेलिकोप्टर दुर्घटनामा परेका छन् । फिस्टेलेको हेलिकोप्टर दुर्घटनामा हालसम्म १५ जनाले ज्यान गुमाइसकेका छन् ।
ताप्लेजुङमा भएको श्री एयरलाइन्सको एमआई १७ दुर्घटना मन्त्रीसहित देशका गन्यमान्य २४ जनाको ज्यान गएको थियो । हरेक घटनासँगै सुरक्षाका प्रश्न उठ्ने गर्छन । दुईचार दिन प्राविधिक तथा यान्त्रिक चेकजाँचका विषयले प्राथमिकता पाउँछन् । तर समय वितेसँगै उही हेलचेक्र्याइँ देखिने गरेको छ । यति एयरलाइन्सका विमान दुर्घटना भएपछि सरकारले उडानअघि यान्त्रिक चेकजाँच कडाई गर्ने निर्णय त गरेको छ तर निर्णय कहिलेसम्म टिक्छ भन्ने संशय कायमै छ ।
प्रतिक्रिया दिनुहोस्