
काठमाडौं । सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो ।
हेल्प नेपालले आर्मीलाई २५–२१,२६–२४ र २५–२३ ले हराएर च्याम्पियन बनेको हो । आजै भएको महिला फाइनलमा विभागीय टोली नेपाल पुलिसले न्यु डायमण्ड एकेडेमीलाई हराउँदै उपाधी जितेको थियो ।
न्यु डायमण्ड एकेडेमीलाई पुलिस क्लबले ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएर च्याम्पियन बनको हो । पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले जितेको थियो । डायमण्डले तेस्रो सेट २७–२५ ले जितेकोमा चौथो सेट पुलिसले २५–१९ ले जितेको थियो । निर्णायक तथा पाँचौं सेटमा पुलिसले १५–११ को जित निकाल्न सफल भयो ।
उपाधिसँगै हेल्प नेपाल र पुलिसले ४ लाख नगद प्राप्त गरेका छन । उपविजेता आर्मी र न्यु डायमन्डले २ लाखमा चित्त बुझाए । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्