१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विमान दुर्घटना : ६८ जनाको शव अस्पतालमा


143
Shares

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव गण्डकी अस्पतालमा पुर्‍याइएकाे छ ।

सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्‍याइएकाे प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । भेटिएका शवको पहिचान गरी गण्डकी अस्पतालमा पुर्‍याइएकाे हो । अस्पतालमै शवको सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ३८ जनाको सनाखत भएको छ । अन्यको पनि सनाखत गर्ने काम भइरहेको छ । परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको प्रशासनले जनाएको छ । करिब २ सय जना नेपाली सेना, एक सय बढी सशस्त्र प्रहरी र प्रहरी घटनास्थलमा खटिएका छन् ।

क्रेन, डोरीलगायतको प्रयोग गरी बेपत्ता रहेका चार जनाको खोजी गरिरहेको छ । यसअघि ६९ जनाकै शव फेला परेको बताइएको थियो । यति एयरलाइन्सले पनि ६९ जनाको शव फेला परेको भन्दै विज्ञप्ति जारी गरेको थियो । तर, दुई जनाको नाम दोहोरिएको बताइएको छ । अन्य चार जनाको अवस्था अज्ञात रहेकाले उनीहरूको पनि खोजी भइरहेको छ ।

आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा १०ः५० मा दुर्घटना भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अन्दाजी दुई किलोमिटर पर पोखरा महानगरपालिका–१५ स्थित सेती नदीको खोंचमा दुर्घटना भएको हो । उक्त जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए । अप्ठेरो ठाउँमा दुर्घटना भएकाले पनि उद्धार गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।

पोखरामै बुझ्न चाहनेहरूको शव त्यही अस्पतालमा पोष्टमर्टम गरी बुझाइने भएको छ । विदेशी नागरिक, पहिचान हुन बाँकी, काठमाडौंमै बुझ्न चाहने र चालक दलको शव भने काठमाडौं पठाउने तयारी रहेको छ ।

दुर्घटनामा १५ जना विदेशी नागरिक र चार जना चालक दलको शव काठमाडौं ल्याइने भएको हो । पहिचान खुलाउने र काठमाडौंमै लिन चाहनेको संख्या पनि खुल्न बाँकी छ ।

यस्तै, उद्धार टोलीले जहाजको ‘ब्ल्याक बक्स’ पनि सरकारले गठन गरेको जाँच आयोगलाई बुझाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।