३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


जाँचबुझ समितिले बुझाएका प्रतिवेदनको कार्यान्वयनमा हेलचेक्र्याईं नगरौं : विष्णु रिमाल


52
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आइतबारको भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरुको कार्यान्वयनमा हेलचेक्र्याईं गर्न नहुने बताउनुभएको छ ।

उपमहासचिव रिमालले हरेक पटक विमान दुर्घटनापछि जाँचबुझ समिति बनाइएक पनि समितिले बुझाएका प्रतिवेदनहरुको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरु भइरहेको बताउनुभएको हो । उहाँले अब पनि विज्ञहरुले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारणहरु विमानमा चढ्दा मर्छु की बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताउनुभयो ।

उपमहासचिव रिमालले जाँचबुझ समितिले निकालेको निस्कर्षप्रति सरकार र सम्बन्धित निकायहरु कति इमान्दार छन् भन्ने प्रश्न आम मानिसमा रहेको बताउनुभयो । उहाँले सरकार र सम्बन्धित निकायहरुले विज्ञहरुले बुझाएको प्रतिवेदन अव्यवहारिक र गलत भए भन्न सक्नुपर्ने तर प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभइ थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले दिएका रिपोर्ट कति अवलम्वन गरिए भन्ने सन्दर्भमा जनताले प्रश्न उठाइरहेको भन्दै यसको सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो । उपमहासचिव रिमालले सम्बन्धित निकायले जाँचबुझ समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा पनि बदनाम हुने बताउनुभयो ।

काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।