१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छ : शंकर पोखरेल


39
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताउनुभएको छ ।

सोमबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई आग्रह गर्नुभएको हो ।

उहाँले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने बताउनुभयो । उहाँले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले अनेरास्ववियुलाई अग्र्यानिक अनेरास्ववियु बनाउन निर्देशन दिनुभयो ।

महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको बताउनुभयो । सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उहाँले यसले उदार पँुजीवाद र दलाल नोकरशाहलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।

उहाँले एमाले नेतृत्वको सरकार हुँदा सडकमा नागरिक आन्दोलनको नाममा आन्दोलन हुने गरेको उल्लेख गर्दै बुर्जुवाहरुले सरकारको नेतृत्व गर्दाभने नागरिक आन्दोलन सुतेर बस्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले नागरिक आन्दोलनको नाममा जनताको वास्तविक अधिकारलाई स्थापित हुनबाट रोक्ने प्रपञ्च गरिएको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई माथि लैजान सक्ने सामथ्र्य एमालेसँग मात्रै रहेको दाबी गर्नुभयो । उहाँले एमालेले नै नेपालमा लोडसेडिङको अन्त्य गरेको बताउनुभयो । एमालेले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण गरेको उहाँको भनाई छ । एमालेले देशको विकास र समृद्धिमा धेरै ठूला-ठूला काम गरेको भएपनि ति कामहरुलाई जनताको बीचमा स्थापित गराउन नसकेको उहाँले बताउनुभयो ।

उहाँले मुलुकमा धेरै राजनीतिक दलहरु हुँदा अस्थिरता हुने भन्दै स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभयो ।