१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विमान दुर्घटना : ७० जनाको शव अस्पतालमा


741
Shares

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका ७० जनाको शव अस्पतालमा पुर्‍याइएको छ ।

सोमबारसम्म ७० जनाको शव पोष्टमार्टमका लागि पोखराको गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ । शवमध्ये केहीको सनाखत भइसकेको छ भने केहीको सनाखत हुन बाँकी छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सनाखत भएका शवहरु पोष्टमार्टम पछि परिवारजनलाई बुझाएको छ ।

दुर्घटनामा १५ विदेशी नागरिक र ४ जना चालक दलको शव काठमाडौं ल्याउने तयारी गरिएता पनि मंगलबार मात्रै काठमाडौं ल्याइने भएको छ । शव संकलनका लागि करिब २ सय नेपाली सेना, एक सय बढी सशस्त्र प्रहरी र नेपालप्रहरी घटनास्थलमा खटिएका छन् ।

क्रेन, डोरी लगायतको प्रयोग गरी बेपत्ता रहेका २ जनाको शवको खोजी कार्य जारी रहेकोमा मौसम अनुकुलका कारण मंगलबार बिहान मात्रै पुन खोजी कार्य जारी रहने छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको बिमान पोखरामा दुर्घटनाग्रस्त भएको हो ।

उक्त विमानमा ४ चालक दलसहित ७२ जना सवार थिए । पहिचान खुलाउने र काठमाडौंमै लिन चाहनेको संख्या पनि खुल्न बाँकी छ । यस्तै, उद्धार टोलीले जहाजको ‘ब्ल्याक बक्स’ पनि सरकारले गठन गरेको जाँच आयोगलाई बुझाइसकेको प्राधिकरणले जनाएको छ ।