
म्याग्दी । म्याग्दीमा कालीगण्डकी नदीमा पहिलो पटक जलयात्रा व्यवसाय (र्याफ्टिङ) सुरु भएको छ ।
सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा र्याफ्टिङ सुरु गर्नुभएकाे हाे । स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी गलेश्वर–बेनी छोटो दूरीमा पहिलो छलाङको र्याफ्टिङ सुरु गरिएको स्पाल्स नेपाल एड्भेन्चरका सञ्चालक-गाइड होम पुनले बताउनुभयाे ।
स्थानीय युवायुवती र मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी गलेश्वर–बेनीसम्म र्याफ्टिङ गराउन सकिने सम्भावना देखिएपछि र्याफ्टिङ–कायकिङ व्यवसायी र गाइडसँगको सहकार्यमा बेनीबाट व्यवसाय सुरु गरिएको उहाँले जानकारी दिनुभयाे । गलेश्वर–बेनीसम्म कालीगण्डकीमा पानीको बहाव सलल बगेको उहाँले बताउनुभयाे । पानीकाे कम छाल भएकाले जलयात्रामा रुचि राख्ने सबैले सहज यात्रा गर्न सकिने उहाँकाे तर्क छ ।
गलेश्वर–बेनीसम्मको दूरीमा र्याफ्टिङ छोटो समयमा सजिलै जलयात्राको अनुभव गर्न सकिन्छ । मुस्ताङ यात्रामा निक्लेको यात्रुले एक–दुई घण्टाबीचमा निकालेर जलयात्राको अनुभव गरी गन्तव्य तर्फ लाग्न सकिन्छ । जलयात्रा साहसिक हुने भएकाले अन्य यात्रामा जस्तो सहज बासको अपेक्षित हुँदैन । तर बेनी र गलेश्वरमा सबै स्तरका होटल सुविधा भएकाले बास, खाजाको पनि समस्या नहुने र यात्रुको सुरक्षा हुने व्यवसायीले बताएका छन् ।
सन् १९९१ देखि बेनीदेखि स्याङ्जाको मिर्मीसम्म ६० किलोमिटर कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु भएको हो । तर बेनी–मालढुंगासम्मको खण्डमा अलि बढी छालहरू बढी भएकोले व्यवसायीले मालढुंगा–मिर्मीसम्म मात्र र्याफ्टिङ गराउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्