५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कालीगण्डकीको शालिग्राम शिलाकाे पूजा अर्चना


65
Shares

म्याग्दी । भारतको अयोध्यामा निर्माणाधिन श्रीराम मन्दिरमा राम र सीताको मूर्ति बनाउनका लागि अयोध्या लैजाने शालिग्रामको पूजा अर्चना गरिएको छ ।

म्याग्दीस्थित कालीगण्डकी नदीमा विधिवत रुपमा भूमि र क्षमा पूजा गरिएको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज र जानकी मन्दिरका महन्त लगायतले शिलाको पूजापाठ गरेका थिए ।

विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीको शिलालाई पूजा आजासहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डीको शिलालाई हिन्दुहरुको धार्मिकस्थल अयोध्यामा मूर्तिका रुपमा राख्न लागिएको हो ।

अयोध्यामा निर्माणधिन राम मन्दिरमा भगवान रामको बाल अवतारको मुख्य मूर्ति बनाएर राख्नका लागि भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञ समेतको टोलीले नगरपालिका–६ ठूलो पहिरो स्थित कालीगण्डकीमा पहिचान गरेका दुई थान शिलाको आइतबार भव्य रूपमा पूजासहित हस्तान्तरण गरिएको हो ।

क्षमा पूजा गरे पश्चात बेनी नगरपालिकाका प्रमुख सुरत केसीले र गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जानकी मन्दिरका महन्तलाई शिला हस्तान्तरण गर्नुभएको थियो । भूर्गभविद् र विज्ञसहितको टोलीले अयोध्या लैजान पहिचान गरेका क्यालसाइट र क्वार्जराइट नामका १६ र १८ टनका दुई शिलालाई हस्तान्तरण गर्नुपूर्व शनिबार उच्चस्तरीय टोलीले अवलोकन समेत गरेका थियाे ।

कालीगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र कालीगण्डकीको शिला लैजान लागिएको अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताउनुभयो ।