
स्याङ्जा । स्याङ्जाको एक शित भण्डारमा राखिएको सुन्तला कुहिन थालेका छन् ।
पुतलीबजार नगरपालिका-११ जैसीडाँडास्थित शित भण्डारमा राखिएका सुन्तला कुहिन थालेका हुन्। सुन्तला राखेको डेढ महिना पनि नपुग्दै सुन्तला बिग्रन थालेपछि किसानमा चिन्ता थपिएको छ।बेमौसममा राम्रो पैसा लिन सकिने जनाउदै यहाँका किसानले सुन्तला शित भण्डारण गरेका हुन् ।
विगतका वर्षमा भन्दा करिब तेब्बर मात्रामा सुन्तला फलेका र भण्डारण गर्ने समेत ब्यवस्था भएकाले यहाँका किसानले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेका थिए। जसमध्ये एक क्विन्टल सुन्तला बिग्रेको देखिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयाे । बिग्रेका ति सुन्तलालाई छुट्टाएर फाल्ने काम भइरहेको उहाँले बताउनुभएकाे छ ।

शित भण्डारण गर्नु भन्दा पहिला यहाँका सुन्तला किसानलाई सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, क्रेटमा मिलाएर भर्ने र आवश्यकता अनुरुप सफा लगायतका विविध कार्य गर्न सुझाव दिएको प्रमुख हमाले बताउनुभयाे । सुन्तला बिग्रन थालेपछि सुन्तला बाली अनुसन्धान केन्द्र (नार्क) धनकुटाका विशेषज्ञ डा. उमेश आचार्यसहितको प्राविधिक टोलीले स्थलगत अनुसन्धान गर्न सुरु गरेको छ ।

फल टिप्दा, भण्डारण गृहसम्म ल्याउँदा र भण्डारणमा राख्दा विशेष सुरक्षासहित ध्यान नदिएका कारण सुन्तला बिग्रन थालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । स्याङ्जामा यस वर्ष १ अरब ३८ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशत भन्दा बढी उत्पादन भएको छ।
प्रतिक्रिया दिनुहोस्