
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राख्नुभएको हो ।
प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराउनुभएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
यता, नेपाली कांग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेको धारणा बैठकमा राखेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।
यता, सत्तारुढ दलहरुबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्