१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेस्रो पटक परराष्ट्र मन्त्रालयको बागडोर महिलाको हालमा


1.885k
Shares

काठमाडौं । नेपालको इतिहासमा तेस्रो पटक परराष्ट्र मन्त्रालयको बागडोर महिलाको जिम्मामा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले परराष्ट्र मन्त्रीमा डा. विमला पौडेल राईलाई नियुक्त गरेको हो । उहाँले मंगलबार पद तथा गोपनियताको सपथ लिएसँग पदबहाली गरेर काम सुरु गर्नुभएको छ ।

२०७४ सालमा गठन भएको राष्ट्रियसभा सदस्यमा सरकारले नियुक्त गरेसँगै राजनीतिक यात्रा तय गर्नुभएकी नवनियुक्त परराष्ट्रमन्त्री पौडेलले चिठ्ठा प्रणालीबाट ६ वर्षे सांसदको यात्रा तय गर्नुभएको हो । राष्ट्रियसभा सदस्यहरुको पदावधी चयनका लागि अपनाइएको चिठ्ठा प्रणालीमा ६ वर्षे पूरा कार्यकाल जिम्मेवारी पाउनुभएकी पौडेलको सांसद अवधि एक वर्ष बाँकी रहेकै बेला परराष्ट्रमन्त्रालयको बागडोर सम्हाल्न पुग्नुभएको छ ।

नेदरल्याण्डको इन्ष्टिच्युट फर सोसल साइन्सबाट ‘विकास अध्ययन’मा विद्यावारिधी सकेर आएपछि उहाँ नेकपा एमालेसँग निकट हुनुभएको हो । त्यसै क्रममा एमालेले उहाँलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएको थियो । विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि पौडेलले राष्ट्रपति भण्डारीका तीन निजी सचिवमध्ये एक निजी सचिवको जिम्मेवारी पाउनुभयो । राष्ट्रिय योजना आयोगको सदस्य भइसकेको व्यक्ति राष्ट्रपतिको निजी सचिव बनेपछि उहाँको ओलोचना पनि भएको थियो । तर, निजी सचिव रहेकै बेला उहाँलाई राष्ट्रपति भण्डारीले पाँच वर्षअघि राष्ट्रिय सभा सदस्य मनोनित गर्नुभएको थियो ।

नव नियुक्त परराष्ट्रमन्त्री पौडेलसँग नेपालका विभिन्न सरकारी, बहुपक्षीय आर्थिक सहायता निकाय तथा गैर सरकारी निकायमा काम गरेको अनुभव रहेको छ । उहाँले २०७२ को भूकम्पपछिको आवश्यकता अध्ययन लैंगिक समानता, सामाजिक समावेशिता र संरक्षण तथा विधागत टोलीको प्रमुख भई काम पनि गर्नुभएको छ । उहाँ थुप्रै सार्वजनिक निकायहरुमा आवद्ध हुनुहुन्छ भने सेन्ट्रल पीपुल फर फरेस्ट (रिकफ नेपाल)मा सन् २०११ देखि २०१७ र ओपन सोसाइटी फाउन्डेसनको सन् २०१६ देखि २०१८ सम्म सञ्चालक समितिमा बसेर काम गर्नुभएको छ ।

पौडेलले मन्त्रीमा नियुक्त भएसँगै नेपालको इतिहासमा तेस्रो महिला परराष्ट्रमन्त्री हुनुभएको छ । यसअघि २०६६ मा माधव नेपाल प्रधानमन्त्री रहेका बेला नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री बन्नुभएको थियो । त्यसअघि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका बेला २०६३ मा साहना प्रधान परराष्ट्रमन्त्री नियुक्त हुनुभएको थियो ।

नेपालमा शक्ति राष्ट्रहरुको हस्तक्षेप बढीरहेको आरोप लागेका बेला नियक्त हुनु भएकी परराष्ट्रमन्त्री पौडेल सामु नेपालको सन्तुलित परराष्ट्रपति अवलम्बन गरी सबै शक्ति राष्ट्रहरुसँग शक्ति सन्तुलन कायम राख्ने चुनौति छ ।