
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको बिग मर्जरपछि नेपालका पूर्व गभर्नरहरुले फरक-फरक धारणा राखिरहेका छन् ।
पूर्वगभर्नरहरुबाट बैंकहरुको बिग मर्जरले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा देखिने प्रभावका विषयमा फरक–फरक धारणा आउनुलाई चासोका साथ हेरिएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाहरु बिग मर्जरमा हुँदा समाजवादोन्मुख अर्थतन्त्रमा मद्दत नपुग्ने बताउनुभयो । उहाँले थोरै बैंक धेरै सेवासुविधा पाउनुपर्ने भएकाले समाजवादोन्मुख अर्थतन्त्रमा बिग मर्जरले मद्दत नगर्ने उल्लेख गर्नुभयो ।
उहाँले बैंकहरु एक आपसमा मर्जर हुँदा बैंकको मध्यस्ताको लागत कम हुँदा उपभोक्ताले त्यही अनुसारको लाभ पाउनुपर्ने बताउनुभयो । कुराकानीमा पूर्वगभर्नर क्षेत्रीले मर्ज भएका बैंकहरुले उदार किसिमका नीतिहरु ल्याउन सक्नुपर्ने बताउनुभयो । उहाँले सरकारले कृषिलाई प्राथमिकता दिएको अवस्थामा बैंकहरुले कृषिको लागि छुट्टै नीति ल्याएमा सरकारले भनेको जस्तै समाजवादोन्मुख अर्थतन्त्रमा जानसक्ने भन्दै त्यस्तो नीति नल्याएको खण्डमा सफल हुन नसक्ने बताउनुभयो ।
उहाँले अहिलेकै अवस्थाबाट नाफाका लागि मात्रै बैंकले हेर्ने हो भने समाजवादोन्मुख अर्थतन्त्र हुन नसक्ने बताउनुभयो । उहाँले बैंकहरु धेरै बलियो भएपनि नियामक निकायको कानूनी हैसियत माथि भएकाले नियामककोे निर्देशन भन्दा बाहिर जान बैंकहरु नसक्ने बताउनुभयो । उहाँले जोखिमलाई न्युनिकरण गर्नको लागि राष्ट्र बैंकले न्यायपूर्ण रुपमा नियमन गर्नुपर्ने बताउनुभयो । उहाँले ठूलो बैंक हुँदा साना लगानी कर्ताहरुले कर्जा पाउन नसक्ने अवस्था आउनसक्ने उल्लेख गर्नुभयो । उहाँले विगतमा पनि ठूला बैंकहरुले ५÷१० लाख कर्जा माग्न विकास बैंकमा जानु भन्ने गरेको बताउनुभयो ।
पूर्व गभर्नर क्षेत्रीले विगतमा राष्ट्र बैंकले नेपालको ग्रामिण क्षेत्रमा समेत बैंकिङ पहुँच पुर्याउन बैंकको उदारतापूर्वक लाइसेन्स बाँडे पनि वित्तीय पहँुचको विकास हुन नसकेको बताउनुभयो । उहाँले राष्ट्र बैंकको लक्ष्य अनुसार बैंकहरु गाउँगाउँमा पुग्ने भन्दा पनि शहरमा नै केन्द्रित भएर एउटै घरमा सहकारी विकास बैंक, वाणिज्य बैंक राख्ने अवस्था समेत आएको बताउनुभयो ।
उहाँले ग्रामिण क्षेत्रमा बैंकिङ पहँुच नपुग्ने र अन्य मुलुकहरुको तुलनामा बैंकको पुँजी पनि कम भएकाले राष्ट्र बैंकले २ अर्बको बैंकको पुँजीलाई ८ अर्ब बनाएको बताउनु भयो । उहाँले धेरै बैंकहरु हुँदा अस्वस्थ्य प्रकारको प्रतिष्पर्धा बढेकाले केन्द्रिय बैंकहरुले बैंकहरु मर्जर नीति लिएको बताउनुभयो । उहाँले अहिले बैंकहरुको मर्जर नीति राम्रो भएको बताउनुभयो ।
उहाँले बैंकको शेयर १ः१ को रेसियो र कर्मचारीको हैसियतमा तलमाथि नगर्ने नीति राम्रो भएको बताउनुभयो । उहाँल केन्द्रिय बैंकले पुँजी वृद्धि, स्वस्थ प्रतिष्पर्धाको निम्ति र ठूलो आयोजनाको लागि एउटा बैंकले मात्रै पुँजी लगानी गर्नसक्ने अवस्था नभएकोमा अब त्यो अवस्था आउनसक्ने बताउनुभयो ।
पूर्वगभर्नर क्षेत्रीले थोरै बैंक भएपछि एकाधिकार कायम राख्ने, बैंकको स्वार्थको निम्ति मात्रै जाने भएपछि लगानीकर्ता र निक्षेपकर्ताहरुलाई अन्यायमा पार्नसक्ने भन्दै केन्द्रिय बैंकले न्यायपूर्ण तरिकाले नियमन गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्