
काठमाडौं । अघिल्लो दिन उछाल आएको शेयर बजारमा बुधबार सामान्य अंकको करेक्सन आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ९ अंकले ऋणात्मक रहेर २१ सय ७३ कायम भएर थामियो । यस दिन पनि सुरुवाती समयमा उकालो लागेर १२ बजेसम्म २२ सय माथि पुगिसकेको नेप्से त्यसयता उतारचढाव हुँदै ओरालो लागेर थामिएको हो ।
कारोबार भने यस दिन थप उच्च ५ अर्ब हाराहारीमा रह्यो । यस दिन जलविद्युत र विकास बैंक समूह दोहोरो अंकले र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक बाँकी समूह ओरालो लागे ।
व्यापार समूहमा सबैभन्दा उच्च ७ प्रतिशतको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले घटे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ४८ कम्पनीको १ करोड ३३ लाख कित्ता शेयर ४ अर्ब ९३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय २१ कम्पनीको मूल्य ओरालो लाग्दा ८० को बढ्यो । घटेको बजारमा पनि पिपुल्स हाइड्रो, बराही हाइड्रो, हिमालय उर्जा विकास, ग्रिन भेन्चर्स र नेशनल हाइड्रोका लगानीकर्ताले भने उच्च १० प्रतिशत बराबर कमाए ।
प्रतिक्रिया दिनुहोस्