२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुस्ता अभियन्ता गुरुङको उपचारमा सहयोग जुटाउन अभियान


260
Shares

परासी । सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको सहयोगका लागि अभियान थालिएको छ ।
नवलपरासी र बुटवलका समाजसेवी तथा स्थानीय अगुवाहरुले अभियान सञ्चालन गरेका हुन् ।

भारतद्वारा पटक पटक अतिक्रमणमा पर्दै आएको नवलपरासीको सुस्ताको भूमिलाई फिर्ता गर्न र अतिक्रमण रोक्नका लागि गुरुङले स्थानीयवासी सम्मिलित समिति बनाएर अभियान सञ्चालन गर्दै आएका छन् ।

विगत २४ वर्षदेखि अभियान सञ्चालन गरेका ६२ वर्षीय गुरुङको मष्तिष्क घात भई भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारजनले गरेको सहयोगको याचनासहितको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि उनको उपचारमा चासो देखाइएको हो ।

उनको उपचारका लागि सहयोग जुटाउन नवलपरासीमा नागरिक समाज परासीका पूर्वअध्यक्ष शम्भु उपाध्यायको अगुवाईमा ‘गोपाल गुरुङ बचाउ अभियान’ सञ्चालन गरिएको छ ।

अभियान टोलीमा लिटिल एञ्जेल्सका प्राचार्य सुमन गोपाल आचार्य, पत्रकार हरि शर्मा, व्यवसायी सन्दिप अग्रहरी र परासी हेल्पिङ हेण्डका संयोजक सञ्जय शर्मा सम्मिलित ५ जना छन् । अभियानले गुरुङको उपचारमा सहयोग गर्न विभिन्न संघसंस्था, व्यापारीलगायत सबैमा आग्रह गरेको छ । नेपाली भूमि रक्षाका लागि ज्यानको बाजी लगाएर लड्दै आएका गुरुङको उपचारमा राज्यले पहल नगरेपछि अभियान सञ्चालन गरिएको हो उपाध्यायले बताए ।

यसैबीच गुरुङको उपचारका लागि बुटवलमा पनि सहयोग जुटाउन थालिएको छ । दुवै जिल्लाका अगुवाहरुले गुरुङको उपचारमा सहयोग रकम उपलब्धका लागि उनकी छोरी पसन्त गुरुङको प्राइम सिल्भर सेभिङमा रहेको खाता नं. १७२०००२१ ‘पिई’ मा जम्मा गर्न आग्रह गरेका छन् ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङले सुस्ता अतिक्रमणविरुद्ध आवाज उठाउन थालेपछि भारतीय सुरक्षाकर्मीले झुठा मुद्दा लगाएर एक वर्ष जेल पठाएका थिए ।

२०६२ सालबाट एसएसबीको उक्साहटमा भारतीय नागरिक पठाएर अतिक्रमणलाई तीव्रता दिएपछि गुरुङले सोही वर्षदेखि सुस्ता बचाउ अभियान सञ्चालन गर्दै सरकारलाई अतिक्रमण रोक्न र कब्जा गरिएको जग्गा फिर्ताको मागसहित दबाब दिदैं आएका छन् । सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो ।

१४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ । १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भन्दै आएको छ । जसका कारण नेपाली भूमि भएर पनि भोगचलन गर्न नपाइएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएका छन् ।