
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर गुन लगाएको कांग्रेसले सभामुखको निर्वाचनमा पनि दाहालको पार्टी माओवादीको साथ पाएन ।
बिहिबार प्रतिनिधि सभामा सभामुख चयनका लागि भएको मतदानमा एमालेका उमेदवार देवराज घिमिरे निर्वाचित हुनुभयो । गत पुस २६ मा दाहाललाई विश्वासको मत दिएर असाधारण दुइ तिहाई मत पुर्याउन सहयोग गरेको कांग्रेसले अहिलेसम्म दाहालबाट भने त्यसको गुन स्वरुप बदलामा कुनै पनि पद प्राप्त गर्न सकेको छैन । कांग्रेसले एउटा पद गुम्दै जाँदा फेरि अर्काेमा दाहालको साथ पाउने अपेक्षा गरेपनि अहिले सम्म कुनै पनि पद पाउन सकेको छैन । ७ प्रदेशमा मुख्यमन्त्री,सभामुख उपसभामुख चयनमा पनि कांग्रेसले कुनै पद पाउन सकेन बरु माओवादीबाट प्रदेश मुख्यमन्त्री,सभामुख र उपसभामुख उम्मेदवार बनेकाहरुलाई कांग्रेसले सहयोग गर्यो । अहिलेसम्म संविधानले व्यवस्था गरेका संस्थाहरुमा कांग्रेसले केही पाएको छैन । अब राष्ट्रपति,उपराष्ट्रपति र उपसभामुख मात्रै चयन गर्न बाँकी छ ।
त्यसमा पनि राष्ट्रपति नेकपा एमालेको भागमा पार्ने सहमति भएपछि मात्रै दाहाललाई प्रधानमन्त्री बनाउन एमाले सकारात्मक भएको एमालेका नेताहरुको दाबी छ । तर उता कांग्रेस नेताहरु भने प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सघाउने बचन दिनु भएको दाबी गर्छन् । तर अहिलेसम्म भने कांग्रेस हेरेको हेर्यै भएको छ । अहिलेसम्म संविधानले व्यवस्था गरेको धेरैजसो पदहरु एमालेले लिइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताले भने विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाकै कारण विभिन्न प्रश्न उठेकाले माओवादीले कांग्रेसलाई सहयोग गर्ने वचन दिएको हो । कांग्रेसलाई राष्ट्रपति दिन प्रधमामन्त्री दाहालले त्यसका लागि पृष्ठभूमि तयार गरिरहनु भएको दाहाल निकट एक माओवादी नेताले बताए । राष्ट्रपति निर्वाचनका लागि अझै समय बाँकी भएकाले कांग्रेससँग छलफल हुने ती नेताको भनाई छ । दाहाललाई प्रधानमन्त्री बनाउँन सहयोग गर्ने एमालेले कुनै पनि हालतमा राष्ट्रपति नछोड्ने जनाउ दिइसकेको छ ।
राजनीतिमा अस्थिर मानिनु हुने दाहालप्रति भने कतिपय कांग्रेस नेता विश्वास गर्दैनन् । राष्ट्रपति र प्रतिनिधि सभाको सभामुख एमाले, उपराष्ट्रपति र उपसभामुख माओवादी केन्द्रको भागमा राख्ने समहतिमा एमालेले दाहाललाई प्रधानमन्त्री बनाएको हो । तर माओवादी नेताहरु भने लिखित रुपमा त्यस्तो सहमति नभएको बताउँछन् । उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दाबी गर्दे आएको छ । उपसभामुखको निर्वाचनका लागि माघ ७ गतेको मिति तय भएको छ । उपसभामुख पनि कांग्रेसले पाउने संभावना निकै कम छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिबार सभामुखको निर्वाचन पछि प्रतिनिधि सभाबाट बाहिरिदै गर्दा राष्ट्रपति आफ्नो पार्टीले नछोड्ने संकेत दिइसक्नु भएको छ । उहाँले सत्ता साझेदार दलहरुबीच एमालेलाई राष्ट्रपति दिने सहमति भएको र त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट बाहिरिदै गर्दा राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन भैदिए हुन्थ्यो भन्ने आफूले चाहेको बताउनु भयो । कांग्रेसमा देउवा पक्षका नेताहरु दाहालले राष्ट्रपति निर्वाचनमा सघाउने दाबी गरिरहेका छन् । तर केही कांग्रेस नेताहरु यसलाई मान्न तयार छैनन् ।
प्रतिक्रिया दिनुहोस्