
काठमाडौं । ओहो, कस्तो जाडो ! अहिले हरेकका मुखबाट यही वाक्य उच्चारण हुने गर्छ । चिकित्सकहरुले पनि न्यानो कपडा लाउन र तातो झोलिलो पदार्थ खाएर जाडोबाट बच्न सुझाएका छन् । तर हिङदेखि हर्दीसम्म पाइने काठमाडौंको प्रमुख व्यवसायीक थलो असन र महाबौद्धका न्यानो लुगाका व्यापारीहरु ग्राहकको अभावमा हाई काढेर बस्नु परेको गुनासो गर्छन ।
जाडो बढेपछि व्यापारमा पनि केही कमी भएको देखिन्छ । मध्यान्ह महाबौद्धका पसल खाली थिए । सधैं मानिसको ठेलमठेल हुने यस क्षेत्रका व्यापारी ग्राहकको प्रतिक्षामा बसिरहेका थिए कति त उँगेर बसेका थिए । ऋण काढेर लुगामा करोडौं लगानी गरेको तर उपभोक्ता नआउँदा आफूहरु धर्म संकटमा परेको गुनासो व्यवसायीको छ । चीनसँगको व्यापार नाका असहज हुनु, बैंकको ऋणले पुरिनु त्यसमाथि व्यापार नहुँदा चेपुवामा परेको ठान्ने व्यवसायीहरु कहिलेकाही थोक त परै जाओस् बोहोनी समेत हुन छोडेको डम्बर खरेल बताउनुहुन्छ ।
जाडोमा व्यापार नहँदा पसलको भाडा समेत तिर्न नसक्ने अवस्था आएको महाबौद्धका व्यापारी यज्ञप्रसाद तिमिल्सिना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ-मेरो पसल भित्र पर्ने भएकाले बिक्री झन् कम भएको बताउनुहुन्छ ।
यो वर्ष अघिल्ला वर्षजस्तो चिसो महसूस नहुँदा गर्मीको व्यापार हुन थालेको व्यापारी बताउँछन् । बजारमा जताततै जाडोका रेडिमेड कपडा ज्याकेट, टाउजर, टोपी, स्वेटरदेखि पछ्यौराले बजार ढाकिएको छ । तर ग्राहक शून्य रहेका कारण पसलको भाडा समेत तिर्न नसकिने अवस्था रहेको व्यापारी बताउँछन् ।
गत बर्षको तुलनामा यो बर्ष कपडामा ५० देखि २ सय प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । सामानको मूल्य खासै नबढेको कतिपय ग्राहकको अनुभव छ भने कसैको धेरै बजार घुम्दा पनि भने जस्तो सामान पाउनै कठिन भएको बताए । बजार डुल्दा पनि भनेजस्तो कपडा पाउन नसकेको जानु अधिकारी बताउनुहुन्छ । उहाँले सामान पनि महंगो भएको बताउनुभयो ।
ग्राहकमा क्रय क्षमता घट्नु र बैंकहरुले ऋणमा कडाई गर्नुले व्यापारमा चुनौति थपिएको विश्लेषण व्यापारीहरुको छ । यो अवस्था रहिरहे भाडा तिर्न समेत कठिन हुने भन्दै उनीहरुले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्