१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सिन्धुलीमा ट्राफिक प्रहरीद्वारा १ महिनामा ४० लाख बढी राजस्व संकलन


78
Shares

सिन्धुली । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले राजमार्गमा नियम विपरित संचालन भएका सवारी साधनहरूलाई कारबाही गरेर १ महिनामा ४० लाख भन्दा बढी राजस्व संकलन गरेकाे छ ।

गत पुस महिनामा कार्यालयले नियम विपरित संचालन भएका सवारी साधनलाई कारबाही गरी ४० लाख ३७ हजार राजस्व संकलन गरेको हो । सिन्धुली तथा जिल्ला हुँदै विभिन्न गन्तव्यमा जाने सवारी कारबाहीबाट उक्त रकम संकलन गरेको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जेजंग कार्कीले बताउनुभयाे ।

जिल्ला ट्राफिक प्रहरीले नियम विपरित संचालन हुने सबै खाले सवारी साधनहरुमाथि कारबाही गरेर राजस्व असुल गरेको हो । सिन्धुलीमा साेही अवधिमा सबै भन्दा बढी जीप कारमा सवारी कागजपत्र नभएका तथा ट्राफिक नियम उल्लंघन गर्ने ९ सय ५६ जीप र कार कारबाहीमा परेका छन् । त्यसबाट १० लाख ४ हजार ५ सय राजस्व संकलन भएको हो ।

यसैगरी ८ सय ४ ट्रक कारबाहीबाट ८ लाख ७८ हजार, ५ सय ३८ बस कारबाहीबाट ५ लाख ५ हजार ५ सय, ९ सय ५ मोटसाइकल, स्कुटर कारबाहीबाट ९ लाख ४९ हजार राजस्व संकलन भएको छ । २ सय ट्याक्टर कारबाहीबाट २ लाख १ हजार र ३ सय ९७ अटो लगायत अन्य सवारी कारबाहीबाट ३ लाख ९९ हजार राजस्व संकलन भएको छ ।

पछिल्लो समयमा दरबन्दी अनुसार ट्राफिक कर्मचारी भएसँगै सवारी चेक जाँचमा कडाई गरी सवारी दुर्घटनामा न्यूनिकरण समेत भएको छ ।