१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


तिम्रो घरमा भाले नबासे पनि मेरो घरमा उज्यालो हुनेछ भन्ने हिम्मत गर कांग्रेसीजन..


1.326k
Shares

नेपाली उखान छ—छिन चुके दिनको फेरो, दिन चुके युगको फेरो । साँच्चै हो रहेछ । छिनमै चटक गर्न सके र चटकेसँग संगत गर्न सके तत्कालै फाइदा हुने रहेछ तर त्यस्तो फाइदा कहिलेसम्म र केके फाइदा पाइन्छ भन्नेचाहिँ कहिल्यै स्पष्ट हुनेछैन ।

त्यस्तो तत्कालीन चटके राजनीतिले दिने परिणाम भनेको सधैँ दुखान्त मानिन्छ । अर्थात् सत्ताको राजनीति भए कुनै पनि बेला सत्ताबाट उछिट्टिने र सत्ता बाहिर रहेकाले अचानक सत्ताको स्वाद फेर्न पाउने हुने रहेछ । तर कुनै पात्र यहाँ अस्थिर र गतिशील हुने रहेछ अनिमात्र तत्काल तत्काल नसोचेको परि यो नेपाली राजनीतिमा सबैलाई लागू हुन्छ, झन अहिलेको समसामयिक राजनीतिमा अझ टड्कारोसँग देखिएको छ ।

प्रजातन्त्रका लागि सम्झौताविहीन संघर्ष गर्ने, प्रजातन्त्र र सामाजिक न्यायका लागि अनवरत संघर्षरत दलहरुको उपयोगिता सकिएको हो त ? जनतामा एउटा यस्तो अमिट छाप पारिएको छ कि पुराना दलहरु जसले प्रजातन्त्रका लागि संघर्ष गरे, ती सबै अब जनताको पक्षमा देखिएनन् । तर कहिल्यै कसैैले परिणामका बारेमा जानकारी नै नपाएका, तर स्वयंघोषित विज्ञता हासिल गरेकाहरुको पछिपछि मूलधारका दलहरु घुमेको देख्दा लाग्छ, राजनीतिको अन्तिम लक्ष्य भनेको तत्काल सत्तामा पुग्नका लागि जस्तोसुकै मूल्यहीन सम्झौता गर्न पनि तत्पर देखिएको प्रमाण अहिलेको सत्ता समीकरण र विपक्षी बनिने तयारीलाई लिन सकिन्छ ।

मूलधारका भनेर आफूलाई चिनाउने दलहरुले पनि अहिले आएर आफ्ना क्रियाकलापहरु असामयिक रहेको स्वीकारोक्ति गरेका हुन् कि ? या जनताको भ्रमले दिएको लाखौँ मतले मात्र मूलधारमा आफूलाई मान्नुपर्ने अवस्था सृजना भएको हो कि ?

अहिलेको सत्ता राजनीतिमा प्रजातन्त्रको नकाब लगाएर कृत्रिम प्रजातन्त्रको वारेमा बहस र गलत अर्थ लगाउन सक्नेको बाहुल्यता छ । गर्दागर्दै एउटा यस्तो अवस्था आयो कि राजतन्त्र फालेर गणतन्त्र स्थापनाको भागीदार पनि नेपाली कांग्रेस, हिन्दू धर्मको अन्त्य गरेर धर्म निरपेक्षताको प्रमुख कडी पनि नेपाली कांग्रेस, मुलुकलाई विदेशीहरुको खेलौना बनाउने पनि नेपाली कांग्रेस, भ्रष्टाचारको मुख्य जड र पात्र पनि नेपाली कांग्रेस, मुलुकको विकास हुन नसकेको कारण पनि नेपाली कांग्रेस, सीमाको रक्षा नगर्ने पनि नेपाली कांग्रेस अनि विदेशीहरुसँगको सम्बन्धलाई अस्थिर बनाएर परराष्ट्र मामिलालाईं एकतर्फी बनाई मुलुकलाई खेलमैदान बनाउने पनि नेपाली कांग्रेस भन्ने भाष्य तयार भएको छ मानौँ कि नेपाली कांग्रेस भन्ने पार्टीका कारणले नै यो देशको अवस्था यस्तो भएको हो । अहिलेको केन्द्रीय राजनीति र प्रादेशिक राजनीतिको केन्द्रविन्दु नै नेपाली कांग्रेसलाई जसरी हुन्छ, आगामी दिनमा यो देशको राजनीतिबाट लोकतान्त्रिक तरिकाले पन्छाउने काम हुनेछ ।

जर्मनीमा वाइमर संविधानको घोषणा गराउने, कार्यान्वयन गराउने र मुलुकलाई सामाजिक न्यायमुखी देश अनि विकसित देशको रुपमा संसारमा चिनाउने प्रजातान्त्रिक समाजवादीहरुलाई जसरी एडोल्फ हिटलरले प्रचारात्मक अभियानमार्फत् निस्तेज गराएको थियो र सत्तालाई जसरी पनि, जुुनसुकै तरिकाले भए पनि कब्जा गरेको थियो, अहिले ठिक त्यस्तै अवस्था देखिएको छ नेपालमा । त्यतिमात्र होइन, एकजना नेकपा एमालेको कार्यालय सचिवले सिन्धुलीमा पुगेर भनेछन्—अबको राजनीतिको केन्द्रविन्दु एमाले हो, बालकोट हो , यदि नेपाली कांग्रेसलाई कुनै पदको जरुरी परेको हो भने ओलीसँग बालकोट बाल्कोनीमा उभिएर माग्नुपर्छ, अनि दिए पाउने हो , नत्र …..। त्यस्तो भएको हो र राजनीति? त्यस्तै निरीह भएको हो र माओबादी केन्द्र ? या नेपाली कांग्रेस, लोसपा , नेकपा एकीकृतसमेतको अवस्था त्यस्तै निरीह भएको हो त ?

त्यसले देखाउँछ, फेरि एउटा कुनै षडयन्त्र हुँदैछ निर्वाचित निरंकुशताको पक्षमा जसको पृष्ठपोषणमा आफूलाई जनताको परीक्षामा उत्तीर्ण नभएका तर सत्ताको चास्नीमा डुबेका अनि विवादास्पद व्यक्तित्वहरुको नकाब उत्रने डरले जेजे भन्छन् बाहुन बाजे, त्यही त्यही स्वाहा भनेर नयाँ निरंकुशताको पक्षमा जानेर, नजानेर लाग्नेहरुको घुइँचो देखिन्छ ।

सायद सरकार बन्ने बित्तिकै यति धेरै आलोचना योभन्दा पहिलेका मन्त्रिपरिषदमा थिएन होला । यस्को दोषको भागी त प्रजातन्त्रका लागि लडिरहने र मुलुकमा विधिको शासनका लागि लागिरहने नेपाली कांग्रेस पनि हो । आफैँले बेला मौकामा देखाएको अप्रजातान्त्रिक कार्यको र अभ्यासको नियति भोगिरहेको देखिन्छ र पनि नेपालमा प्रजातन्त्रका पक्षमा बोल्ने, अभ्यासरत पक्ष भनेको आज पनि नेपाली कांग्रेस हो भन्ने प्रत्याभूति दिने बेला भएको छ । अन्यथा मुलुक भासमा जाकिए पछि भने चाहेर पनि लोकतान्त्रिक निरंकुशताको विरुद्धमा बोल्न सकिने छैन किनभने त्यो बेलामा वाक स्वतन्त्रता कहाँ पो रहला ?
नेपाली कांग्रेसको अवस्था कस्तो रह्यो भने, न दलको अवस्था सुदृढ भयो, न दलका इमान्दार मानिसहरु दलका कार्यकर्ता बाँकी रहने भए, न दलको वर्चस्व कायम रहने भयो, न प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्नेछ भन्ने प्रत्याभूति दिने अवस्था रह्यो । लाखौँ समर्थकहरु पनि गुमे, गठबन्धनका मित्रहरु पनि गुमे, मुलुकमा हेर्दाहेर्दै प्रजातन्त्र पनि आप्mनै मतले गुमेको टुलुटुलु हेर्नुपर्ने अवस्था छ ।

वेदमा भनिएझैँ नेपाली कांग्रेसलाई भन्नै पर्ने भएको छ —व्युँझ, उठ र महापुरुषहरुको संगतमा जाऊ र आफ्नो बाँकी जीवनलाई सुखमय बनाऊ । अझै बेला छ, नकाब उघार, गल्ती महसुस गर र प्रजातन्त्रका पक्षमा मात्र लाग्ने बचन देऊ अनि भन्न सुरु गर, तिम्रो घरमा भाले नबासे पनि हाम्रो घरमा उज्यालो हुन रोकिने छैन ।