
काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन डोजर चलाएको छ ।
धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी मुना चौधरी लिम्बुले बनाएको घर उपमहानगरले डोजर लगाएर भत्काएको हो ।
डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाबीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
धरान-५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एकतले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताउनुभयो ।
उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार गर्दा समेत अटेर गरी घर निर्माण गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्