२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


बैतडीमा महिला टि-२० क्रिकेट वर्षाका कारण प्रभावित


26
Shares

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालन भएकाे नगरस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित भएको छ ।

मंगलबारदेखि परेको वर्षाले मंगलबार र बुधबारका ४ वटै खेलहरू हुन नसकेकाे प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिनुभयो। रोकिएका खेलहरू वर्षा रोकिएपछि सोही दिनदेखि सुरू गरिने बोहराले बताउनुभएकाे हाे । दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजना यहि माघ ९ गतेदेखि सुरू भएको उद्घाटन खेलमा दनपा १० बाराकोटलाई ५१ रनले स्तब्ध पार्दै दनपा २ देहिमाडौं विजयी भएको थियो ।

निङलाशैनी खेल मैदान देहिमाडौंमा माघ १५ गते फाइनल खेल गर्ने तयारी रहेकोमा वर्षाका कारण कम्तिमा दुई दिन धकेलिने भएको छ । नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार नगद २५ हजार रूपैयाँ, ट्रफिमेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार नगद १५ हजार, ट्रफिमेडल र प्रमाणपत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

त्यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार रूपैयाँ, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५ र १५ सय रूपैयाँ, अनुशासित टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाणपत्र दिइने भएकाे छ । प्रतितियोगिताको समापनका दिन दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ ।

यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो।
खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रूचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइले बताउनुभयो।

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष चन्दले बताउनुभयाे ।