२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिम प्रदेश सभाकाे बैठक स्थगित


143
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सभाले बिजनेश नपाएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको छ।

बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताउनुभयो। प्रदेश सभा सञ्चालनका लागि कार्यसूची नभएकाले स्थगित गरिएको उहाँले बताउनुभयाे ।

नेकपा एमाले संसदीय दलको नेता रहनुभएका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत माग्न काठमाडाैं जानु भएको छ । प्रदेश सभाबाट उहाँले विश्वासको मत लिनुभएको छैन । प्रदेश सरकारमा सहभागी भएका दलहरुबीचमा समझदारी भएको भए बुधबार बस्ने भनिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी थियो ।

नागरिक उन्मुक्ति पार्टीसँग निर्णायक वार्ता नभएकाले समस्या भएको हो। केन्द्रीय नेताहरुलाई विश्वासको मतको वातावण तयार गर्न आग्रह गर्दै मुख्यमन्त्री रावल काठमाडाैं बस्नुभएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड), एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग भेटघाट तथा छलफल गर्नुभएको छ । केन्द्रीय नेताहरुलाई नागरिक उन्मुक्तिको मुद्दा सम्बोधन गर्न र विश्वासको मतका लागि वातावरण बनाउन उहाँले आग्रह गर्दै आउनुभएको छ ।

दलका संरक्षक रेशम चौधरीको रिहापछि मात्र मुख्यमन्त्रीलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको मुख्य मुद्दा रहेकाे छ। सुदूरपश्चिममा विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ । प्रदेशमा नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र १ जना राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य रहेका छन् ।

नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु विपक्षमा रहेका छन् ।