
काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सम्बन्धी कार्यक्रमलाई बोर्डले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमबीच छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई सफल बनाउन बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले चलचित्र क्षेत्रका हकहीतसम्बन्धी विषयमा सरकार र सबै क्षेत्र र सम्बन्धित निकायसम्म विकास बोर्डले आफ्ना मागहरु राखिरहने बताउनुभयो ।
कार्यक्रममा कलाकार निर्मल शर्माले अन्तर्राष्ट्रिय जगतमा नेपालमा पनि राम्रा चलचित्रहरु बन्छन् र नेपाल पनि एउटा चलचित्रका लागि उपयुक्त स्थान हो भन्ने परिचयका लागि महोत्सवले ठूलो भुमिका खेल्ने बताउनुभयो । उहाँले डेडिकेटेड चलचित्रहरुलाई प्लेटफर्म दिएर सुरक्षित बनाउन आग्रह गर्नुभयो ।
त्यस्तै, अभिनेत्री दीपाश्री निरौलाले चलचित्र महोत्सव महोत्सव मात्रै नभइ कलाकर्मीहरुका लागि उर्जाको विषय भएको बताउनुभयो ।
अभिनेत्री गौरी मल्लले महोत्सवमा नेपाली चलचित्रको बारेमा विदेशीहरुलाई प्रचार गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले नेपाली चलचित्र र नेपालको कला संस्कृतिको प्रचार गर्नसके नेपाली चलचित्रहरुले विदेशमा स्थान पाउने र लुकेका प्रतिभाहरुको खोजि पनि चलचित्र महोत्सवबाट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अभिनेता निर शाहले अन्तर्राष्ट्रिय स्तरका गुणात्मक चलचित्रहरु चयन गरेर नेपाली चलचित्रका बारेमा पनि विदेशीहरुलाई प्रचार गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले विश्वका धेरै चलचित्र एकै ठाउँमा बसेर हेर्न सकिने स्थान काठमाडौं रहेको बताउनुभयो । उहाँले नेपाल पनि राम्रा सिनेमा बनाउनसक्ने प्रशस्त सम्भावना भएको देश भएको बताउनुभयो ।
त्यस्तै, निफका अध्यक्ष केपी पाठकले यसवर्ष महोत्सवका लागि राम्रा चलचित्रहरुको चयन गरेको बताउनुभयो । उहाँले फिल्ममेकरहरुबाट अघिल्ला महोत्सवहरुमा साउण्डको समस्या आउने गरेको गुनासो आएको भन्दै यसपटक सिनेमाहरु सिनेमा थिएटरबाटै देखाउने बताउनुभयो । उहाँले एउटा ठाउँमा मात्रै सिमित नगरी महोत्सवलाई उपत्यकाका तीन जिल्लामा नै प्रशारण गर्ने तयारी रहेको बताउनुभयो ।
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०)सम्म हुने छ ।
प्रतिक्रिया दिनुहोस्