
काठमाडौं । आफ्नै देशमा केही गरेर खान्छु भनेका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार राज्यको नीति निर्माण गर्ने थलो प्रतिनिधि सभा भवन अगाडिको बीच सडकमै आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे, उनको उपचारमा क्रममा काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा बुधबार निधन भयो ।
यो घटनाले सबै नेपालीको मथिंगल हल्लाएको मात्रै छैन, नेपाली राज्यसत्ता कुन रुपमा रहेको छ भन्ने यथार्थ पनि झल्काएको छ । उनले आफ्नो देशमा वाँच्नको लागि के मात्रै गरेका रहेनछन् त किन उनलाई यही समाजमा बस्नेले हतोत्साहित बनाए ? उनले आफूले आफैंलाई आगो लगाउनु अघि यी सबै कुराको फेहरिस्त सहितको जीवन कथा सामाजिक सञ्जालमा राखेका शब्दहरुले जो कोही नेपालीलाई भावविह्वल बनाउँछ । आफैंले आफ्नो शरीरको अन्त्य गर्नु अर्थात आत्महत्या गरेर जीवन समाप्त पार्नु आलोचनाको विषय हो,पाप हो । तर उनले आफ्नो जीवन आफैले समाप्त पार्नु पर्ने अवस्था कसरी आयो ? त्यसको खोजीनीति हुन जरुरी छ । हुनत बुधबार सरकारले उनले उठाएका प्रश्नहरुमाथि छानविन गर्ने बताएको छ । तर यो नेपाली समाजका केही दिन घटनाबारे भ्याएसम्म गफ गरिन्छ र त्यसपछि सबै बिर्सिइन्छ । यसलाई त्यसरी साम्य नपारियोस, उनले उठाएका प्रश्नलाई मर्न नदिइयोस् । किनकि यो घटनाले राज्यसत्तामा हालीमुहाली गर्दै आएका र विधिको शासनलाई कसरी कमजोर बनाइएको छ भन्ने प्रश्नहरु उठेका छन् । जनताको नाममा राजनीति गर्ने र उनीहरुका जीवन भोगाइमा कतिपनि वास्ता नगर्ने प्रवृत्तिको प्रेमप्रसादको घटनाले खुट्याएको छ । उनलाई आत्मदाहको अवस्थामा पुर्याउने र जीवन नै समाप्त पार्न बाध्य पार्ने प्रश्नहरुमाथि राज्यले छानविन गर्न ढिलो गर्नु हुँदैन ।
आफ्नै देशमा केही गरेर खान खोज्दा सबै सम्पत्ति सकिएको र यो अवस्थामा पुर्याउन सरकारी अड्डा, विमा,बैंक ठूला व्यापारीबाट कसरी लुटिए त उनी, उनले लेखेका ६ हजार ५३ शब्दले सम्पूर्ण कथा र व्यथाको उजागार गरेको छ । राज्यका बेथितिविरुद्ध उनले लेखेका शब्द दस्तावेज हुन् । उनले व्यवसायिक क्षेत्रमा पनि सानालाई ठूलाले कसरी लुटेका हुन्छन् भन्ने यथार्थ प्रष्ट्याएका छन् । ती शब्दले सबैलाई स्तब्ध बनाएको छ । के राज्य अनि सरकार हुनेखाने र पहुँचवालाको लागि मात्रै हो ? किन उनले राज्यप्रति निराश भएर आफ्ना शब्दहरु कोरे ? के राज्यले म आफ्नै देशमा गरेर खान्छु भन्नेलाई हेर्नु र बुझ्नु पर्दैन र ? एउटा नागरिकले मृत्यु नरोजेसम्म यस्ता कुरामा राज्यको ध्यान नजाने हो ? यस्ता थुप्रै प्रश्न उब्जिएका छन् ।
प्रेमप्रसादको दुःखद घटनाले कसको मन थामिन सक्ला र ? उनले सबैलाई स्तब्ध पारेर गए । तर नेपाली राज्य चरित्र र त्यसभित्रका संयन्त्रलाई उदाङगो पारेर गए । हरेक वर्ष देशको अर्थमन्त्रीबाट बजेट भाषण हुन्छ । के त्यो पहुँचवाला र राजनीतिक दलका नेता कार्यकर्ता पोस्न र दलाल अनि विचौलियाका लागि मात्रै हो ? अहिले राजनीतिमा नयाँ दल र नयाँ नेता उदाएका छन् उनीहर सरकारमा पनि गएका छन् । के तिनिहरुले प्रेमप्रसादले उठाएका प्रश्नको जवाफ दिने हिम्मत गर्लान त ? उनले न्याय पाउलान त ? मन्त्रिपरिषद्को बुधवारको बैठकले प्रेमप्रसादको आत्मदाहको घटनाबारे छानबिन गर्ने जिम्मेवारी गृहमन्त्रालयलाई दिने निर्णय गरेको छ । गृहमन्त्रीमा रबि लामिछाने छन् । अब यसमा उनी घोत्लिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्