
काठमाडौं । राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ ।
राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ ।
विभागमा सधैँ सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेवाग्राहीको घण्टौँ लामो लाइन तथा भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौँ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदै छ ।’
कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ । राहदानी विभागमा अबका दुई तीन महिनामा देखिने गरी सुधार हुने उनको दाबी छ । विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ ।
यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले भीड व्यवस्थित गर्न निर्देशन दिनुभएको थियो । राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड अहिले पनि उस्तै रहेको बताइएको छ ।
अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै मुस्किल हुने तथा त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ ।
राहदानी विभागमा हुने समस्या र सेवाग्राहीको गुनासो सम्बोधन गर्न पहल भइरहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्