६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


म्याग्दीमा प्रवासी नेपालीको सहयोगमा प्रविधियुक्त विद्यालय बन्याे


52
Shares

म्याग्दी । वैदेशिक रोजगारीमा गएका प्रवासी नेपालीहरूकाे आर्थिक सहयाेगमा म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा एउटा प्रविधियुक्त विद्यालय बनेकाे छ ।

साेही नगरपालिका–३ भकिम्लीका वैदेशिक रोजगारीमा गएका नेपालीहरूकाे ३ करोड रूपैयाँ भन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा अत्याधुनिक प्रविधियुक्त भव्य विद्यालय भवन निर्माण गरिएको हाे ।स्थानीयवासीको सक्रियता र प्रवासी नेपालीहरूको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो ।

३ करोड ४५ लाख रूपैयाँको लागतमा निर्माण भएको सोही विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले ३ करोड रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको विद्यालयका पूर्व प्रधानाध्यापक रामबहादुर पुनले बताउनुभयो । पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविसको जयन्ती माविको भवन २०७२ सालको महाभूकम्पका कारण कामै नलाग्ने भएकाे थियाे ।

जसका कारण विदेशमा गएका भकिम्लीवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए । साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग उपलब्ध गराउनु बाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई गुहारेको थियो ।

विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीवासीहरुबाट मनग्गे सहयोग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताउनुभयाे । दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिबाट प्राप्त सहयोगले गाउँका बालबालिकाहरुले सुविधा सम्पन्न भवनभित्र बसेर अध्ययन गर्न पाउने भएकाे उहाँकाे भनाइ छ ।

विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरीद गरी गाउँमै भवन निर्माणका लागि ईट्टा बनाएर भवन निर्माण गरेको हो । अहिले रंगरोगन गरेपछि आधुनिक शैलीको सोही विद्यालय भवन चिटिक्क परेकाे देखिएको छ । गाउँमै अत्याधुनिक प्रविधिसहितका सुविधा सम्पन्न विद्यालय भवन बनेपछि यहाँ विद्यार्थीहरुको संख्या पनि बढेको छ ।

उनीहरुको पढाइप्रति पनि रूची बढेको पाइएको अध्यक्ष पुनले बताउनुभयो ।