
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने भएका छन् ।
एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार पत्रकार सम्मेलन गरेको फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने भएको बताएको हो ।
प्रतियोगितामा ए डिभिजन लिगका क्लब सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेसम्म टोली दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । एन्फाको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुने छ । यस्तै, फाइनल खेल दशरथ रंगशालामा आयोजना हुने छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुने छ ।
सात दिनसम्म सञ्चालन हुन प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदयीमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५० हजार प्राप्त गर्ने छन् ।
यसैगरी प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, ‘प्लेयल अफ द म्याच’ लाई १५ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । युवा संघका अध्यक्ष किरण पौडलले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने बताए ।
प्रतिक्रिया दिनुहोस्