
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।
आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिनुभएको हो ।
उहाँले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गर्नुभयो । मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताउनुभयो । उहाँले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन, एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिनुभयो । उहाँले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताउनुभयो । मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गर्नुभयो । उहाँल नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताउनुभयो ।
उहाँले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने बताउनुभयो । उहाँले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीहरुबाट क्यालेण्डर अनुसार कामको परिणाम ल्याउने बताउनुभयो । मन्त्री किराँतीले कर्मचारीहरुले जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न आग्रह गर्नुभयो । उहाँले आफू देशको हीत विपरित हुने कुनैपनि क्रियाकलापसँग सम्झौता नगर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजना भन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गर्नुभयो । उहाँले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताउनुभयो । उहाँले लुम्बिनी विकासको गुरुयोजना निर्माणमा ढिलाई भइरहेको पनि बताउनुभयो । सचिव अधिकारीले बजेटको कमी,बजेट समयमा नै निकासा नहुने मात्रै नभइ कोषको काम प्राथमिकतामा भरपर्ने बताउनुभयो ।
उहाँले लुम्बिनी क्षेत्रभित्रका विभन्न जग्गाहरु अन्तर्राष्ट्रिय धार्मिक संस्थाहरुलाई बाँडफाँट भएकाले समस्या भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्