
बैतडी । बैतडीमा लागू औषध चरेससहित थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका-७ खोचलेकका ५० वर्षीय वीरसिंह कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभएकाे हाे । प्रहरीको विशेष अप्रेशन अन्तर्गत खोजतलास गर्दा कार्कीलाई १ सय ग्राम चरेससहित पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक योगेश खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले कार्कीले सञ्चालन गर्दै आएको भूमिराज किराना पसलबाट चरेससहित उनलाई पक्राउ गरेकोे हो । यसअघि शनिबार पनि खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको दशरथचन्द नगरपालिका-८ का पूजारी गाउँका ५० वर्षीय नारायणसिंह थापालाई चरेससहित पक्राउ गरेको थियो ।
प्रहरी टोलीले थापाको खुद्रा पसल र घरमा २ सय ८० ग्राम चरेस फेला परेको थियो । अवैध लागूऔषध चरेसको कारोबार गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूमाथि लागू औषध मुद्दा दायर गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्