
काठमाडौं । सरकारले नेपाली दूतावास नभएका विभिन्न देशमा घुम्ती टोली खटाउने तयारी गरेको छ ।
परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले यसबारे निर्णय भइसकेकाले चाँडै कार्यान्वयन गर्ने बताउनुभयो । उहाँका अनुसार पहिलो प्राथमिकता पोर्चुगललाई दिइएको छ भने त्यसपछि क्रमशः अन्य देशमा पनि यो कार्यलाई अघि बढाइने उहाँको भनाइ छ ।
गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने गरी काम भएको बताउनुभयो ।
दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने उहाँको भनाइ छ । आइतबारमात्रै यसमा निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाइएको मन्त्री पौडेलेको भनाइ छ ।
यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री मन्त्री पौडेललाई भेटेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल नियुक्त गर्न आग्रह गरेका थिए ।
यूरोपेली मुलुक माल्टामा दूतावास नहुँदा समस्या परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताउनुभयो ।
हाल बेलायतस्थित दूताबासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो सहभागीले गरेका थिए । यस्तै, साइप्रसमा घरेलु कामदारको रुपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्