
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ ।
सोमबार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको हो ।
उहाँले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु संप्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताउनुभयो । सभामुख घिमिरेले पत्रकारले संप्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले समाजलाई सचेत गराउन पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजलाई सचेत बनाउने भुमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाई छ । उहाँले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो । उहाँले शहीदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्