
काठमाडौं । काठमाडौंको दरबारमार्गमा वर्षौदेखि गर्दै आएको पार्किङ क्षेत्रलाई काठमाडौं महानगरपालिकाले हटाएपछि सडक खुला देखिएको छ । साथै यात्रु तथा सवारी साधनका लागि सहज भएको छ । तर, बिना विकल्प महानरपलिकाले पार्किङ हटाएको भन्दै विरोध पनि भएरहको छ ।
दरबारमार्गको पार्किङ स्थलमा अहिले नो पार्किङको बोर्ड टाँसिएको छ । वर्षौदेखि यस क्षेत्रमा सवारी साधन पार्किङ गर्ने गरेका मानिस अहिले अलमलमा पर्ने गरेका छन् । यस स्थानमा आइसकेपछि मात्र नो पार्किङको बोर्ड देखेर अलमलमा रहनेहरुलाई ट्राफिक प्रहरीले सिट्टी फुक्दै अन्य स्थानमा पार्किङ गर्न सुझाव दिँदै आएका छन् ।
महानगरले विभिन्न स्थानका पार्किङ हटाउँदै आएको छ । जसमध्ये महानगरपालिकाले केही दिन अगाडि दरबारमार्गको पार्किङस्थल खाली बनाएको छ । महानगरपालिकाको पार्किङ हटाउने निर्णयले पैदल यात्रु तथा सवारी साधन चलाउनेहरुले त स्वागत नै गरेका छन् । बजार क्षेत्र सुन्दर तथा खाली देखिएको उनीहरु बताउँछन् ।
त्यस्तै, बाटो खाली भएसँगै साँझ बेला दरवारमार्ग क्षेत्रमा हिँड्न रमाईलो हुने गरेको छ । यता, ठूलो ठाउँ ओगटेको पार्किङ एरिया हटेसँगै सवारी जाम पनि निकै घटेको छ ।
यता, बिना विकल्प उपभोग गर्दै आइरहेको पार्किङ हटाउँदा सवारी साधन प्रयोग गरेर दरबारमार्ग क्षेत्रमा आउनेहरुलाई भने ठूलो समस्या परेको छ । सवारी साधन पार्किङ गरेर आफ्नो काम काजमा जानेहरु अब सवारी साधन कहाँ राख्ने भन्ने विषयमा अलमलमा परेका छन् । नो पार्किङमा राख्दा ट्राफिक प्रहरीले लक लगाईदिने, चिट काट्ने गरेको गुनासो सवारी साधन प्रयोगकर्ताको छ । उचित व्यवस्थापन बिना पार्किङ हटाउदा समस्या हुने गरेको काजी बाँनिया बताउनुहुन्छ ।
दरबारमार्ग क्षेत्रमा यसअघि पनि पार्किङ शुल्क निक्कै महंगो भएपनि पार्किङ गर्नेको भिड नै हुने गर्दथ्यो । पार्किङ हटाएसँगै यस क्षेत्रका व्यवसायिहरुलाई ठूलो असर परेको छ । व्यवसायिहरुले महानगरको निर्णयको विरोध गर्दै आएका छन् । पार्किङ नहुँदा ग्राहक नै आउन छोडेको व्यवसायी सौगात बस्नेत बताउनुहुन्छ ।
महानगरपालिकाको खुल्ला सडक बनाउने योजना त स्वागतयोग्य नै छ । तर बिना विकल्प पार्किङ हटाउँदा व्यापार व्यवसायलाई असर पर्नुका साथै उपभोक्तालाई समस्या परेको छ । सहरमा निश्चित पार्किङ एरिया छुट्याएर खाली बनाउने र उपभोक्तालाई कसरी सहज हुन्छ भन्ने तर्फ महानगरपालिकाको ध्यान जानु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्