
सर्लाही । गोलभेडाको मूल्य निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् ।
बजारमा भारतीय गोलभेडा भित्रिएपछि यहाँका स्थानीय किसानले उत्पादन गरेको गोलभेडाले बजार नपाएको हो ।
किसानले गोलभेडा प्रतिक्रेट १ सय ५० देखि दुई सय रुपैयाँमा बिक्री गरिरहेका छन् । एक क्रेटमा २५ किलो गोलभेडा हुन्छ । गोलभेडा प्रतिकिलो ६ देखि ८ रुपैयाँमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल भएको किसानको दु:खेसो छ ।
सुरुमा एक क्रेट गोलभेडा एक हजार दुई सय रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । अहिले १ सय ५० रुपैयाँमा बेच्नु परेको किसाको भनाई छ । लालबन्दी बजारबाट तरकारी जाने मुख्य बजारमा भारतीय गोलभेडा बिना रोकटोक भित्रिदा यहाँका किसानलाई गोलभेडा बेच्नै समस्या हुन थालेको हो ।
बारीभरि पाकेर राताम्मे भएका गोलभेडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले व्यापारीले भनेकै मूल्यमा गोलभेडा बिक्री गर्नुपर्ने बाध्यता छ । बिचौलिया सक्रिय हुँदा किसान थप मारमा परेका छन् ।
लालबन्दी कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष तोरनबहादुर मगरले भारतीय गोलभेडा भित्रिरहेको र गोलभेडा उत्पादन हुने मध्य सिजन भएकाले स्थानीय गोलभेडाले मूल्य पाउन नसकेको बताउनुभयो ।
सर्लाहीमा उत्तरी भेगको लालबन्दी, रानीगञ्ज, पत्थरकोट, चन्द्रपुर, हीरापुर, नवलपुर, अत्रौली, सासापुरलगायत क्षेत्रमा गोलभेडाको व्यावसायिक खेती हुने गरेको छ ।
लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेडा कालिमाटीलगायत देशका प्रमुख बजारमा जाने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्