२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जामा सामुहिक गुन्द्री बनाउदै महिलाहरू


598
Shares

स्याङ्जा । स्याङजाका महिलाहरू सामुहिक गुन्द्री बुन्न थालेका छन् । उनीहरूले सामुहिक रुपमा नौ वटा तान बनाएर गुन्द्री बुन्न थालेका हुन् । उनीहरूले यसरी नै बर्सेनी परालको गुन्द्री बुन्दै आएका छन् ।

घाम लाग्ने पारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर गुन्द्री बनाउने गर्दछन् ।

जहाँ, नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै वर्सेनी परालको गुन्द्री बुन्दै आएका छन् ।

खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन भएको परालबाट गुन्द्री बुन्न थालेका हुन् । पहिल्यैदेखि चलिआएको परम्परा तथा सीपको सदुपयोग गर्दै घरमै रहेको परालको प्रयोगबाट गुन्द्री बुन्ने गरिएको बज्रेभञ्ज्याङस्थित जगत्रशीला आमा समूहकी अध्यक्ष दिलमाया सिञ्जाली बताउनुहुन्छ ।

पुरानो चलिआएको परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा पनि सीप हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले सामूहिक रूपमा गुन्द्री बुन्न थालेको उहाँको भनाई छ ।

बजारमा प्लास्टिकको गुन्द्री किन्न पाइन्छ तर परालको जस्तो बाक्लो नहुने र चिसो हुने भएकाले पनि परालको गुन्द्री बुन्दै आइरहेको उहाँले बताउनुभयो ।

बजारमा म्याट तथा प्लास्टिकका गुन्द्री पाइने भएपछि पहिला जस्तो परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । गुन्द्री बुन्नकै लागि भनेर छुट्टै लामो पराल हुने जातको धान लगाउने प्रचलन रहेको उहाँले बताउनु भयो ।

आफूले जानेको सीपको प्रयोग हुनुका साथै घरमै रहेको परालबाट गुन्द्री बुन्दा प्लास्टिकको गुन्द्री तथा म्याट किन्ननपर्ने भएपछि आर्थिक बचत हुने गरेको स्थानीय यामकुमारी गाहाले बताउनुभयो ।

गाउँमा हुने शुभकार्य र अन्य काममा आउने पाहुनालाई गुन्द्रीमा राखेर भोजन गराउने चलन छ । शुभकार्यमा प्लास्टिकको गुन्द्री जुठो मानिने भएकाले पनि परालकै गुन्द्री आवश्यक रहेको उहाँको भनाई छ ।

नयाँ पुस्तामा सीप हस्तान्तरण नहुनु, नयाँ पुस्ताको रुचि नहुनु, प्लास्टिक तथा म्याटको वैकल्पिक प्रयोग हुनु, पराल नपाइनु लगायतका कारणले परालको गुन्द्री बुन्ने परम्परा तथा परालका गुन्द्री हराउँदै गएका हुन् ।

बज्रेमा यसपटक स्थानीय नौ जना महिलाले सामूहिकरुपमा ५३ वटा गुन्द्री बुनेका छन् ।