
संखुवासभा । संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनाको सुरुङभित्र एक जनाको मृत्यु भएको छ ।
उक्त घटनामा दुई जना घाइते भएका छन् । नौं सय मेगावाटको परियोजनाको विद्युत गृह निर्माण क्षेत्रको पुखुवाको सुरुङभित्र सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको हो ।
भोजपुरका ५४ वर्षीय भिमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मङ्गल तामाङ घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान सुरुङभित्र बिष्फोटक पदार्थ भर्ने क्रममा माथिबाट ढुंगा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ भने घाइतेहरुको सोहि अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको खुट्टामा चोट लागेको जिल्ला प्रहरी प्रमुख डिएस्पी विरेन्द्र गोदारले जानकारी दिनुभयो ।
यस परियोजनामा हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । परियोजनामा हाल नेपाली र भारतीय गरी करिब तीन हजार मजदुरले काम गर्दै आएको अरुण तेस्रो परियोजना सञ्चालक सतलज जलविद्युत निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्