
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारवाही गर्न माग गर्दै युवराज सफल (पौडेल) जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुग्नुभएको थियो । तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो ।
सिन्धुलीका पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी दिनुभएको छ । यद्यपि अध्यागमन विभागले पनि दर्ता गर्न अस्वीकार गरेको छ । प्रहरीमा राहदानी ऐन अनुसार कारवाही हुनुपर्ने माग सहितको जाहेरी छ भने अध्यागमन विभागमा अध्यागमन ऐन अनुसार कारवाही हुनुपर्ने माग छ ।
राहदानी ऐनको दफा २१ (क)मा झुटो विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । त्यसरी राहदानी लिएमा दुईदेखि पाँच लाख रुपैयाँ जरिवाना, एकदेखि तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ । अध्यागमन विभागमा दिइएको उजुरीमा लामिछानेमाथि ‘जाली राहदानी’ प्रयोग गरेको आरोप लगाउदै अध्यागमन ऐन अनुसार छानबिन र कारवाहीको माग छ । अध्यागमन विभागमा दिएको जाहेरीमा जाली राहदानी प्रयोग गरेको आरोप छ ।
लामिछानेमाथि अमेरिकाबाट नेपाल फर्केपछि अमेरिकी नागरिकता कायम रहेको बेला कायम नरहेको नेपाली नागरिकता प्रयोग गरी झुक्याएर नेपाली राहदानी लिएको आरोप दुवै जाहेरीमा छ । नेपाली राहदानी लिनुभन्दा पहिले भर्नुपर्ने फारममा राष्ट्रियताको विवरण भर्नुपर्छ ।
अमेरिकाको नागरिकता कायम भएका बेला लामिछानेले आफ्नो राष्ट्रियता नेपाली भनी उल्लेख गरी नेपाली राहदानी लिनुभएको थियो । त्यही विवरण देखाई जाहेरीमा उहाँले झुटो विवरण पेश गरेको आरोप लगाइएको हो । पौडेल लामिछानेको नागरिकताको बैधानिकतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नेमध्येका एक हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्