
काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकरणको अन्तिम मर्जर सम्झौता भएको छ ।
दुई कम्पनीबीच मंगलबार मर्जका लागि अन्तिम समझदारी भएको हो ।
समझदारीपत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरलका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गर्नुभएको हो ।
दुवै कम्पनी एक आपसमा गाभिए पछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने भएको छ । मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी साधारण सभामा लगिने छ ।
प्रारम्भिक सहमती एवं डिडिए रिपोर्टको आधारमा सगरमाथा र लुम्बिनीको शेयर आदान प्रदान अनुपात एक सय बराबर असी कायम हुने जनाइएको छ । मर्जरसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड माथि पुग्ने जनाइएको छ ।
मर्जपछि बन्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा हाल दुवै कम्पनीका तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने पनि बताइएको छ । यस्तै, मर्ज पछिको कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लुम्बिनीका तर्फबाट रहने र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथाका तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने सहमति भएको पनि जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्