
काठमाडौं । श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको छ ।
मंगलबार मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयसँगको सहकार्यमा अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको बताउनुभयो ।
उहाँले सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएकाले सोही अधिकार प्राप्तिको लागि अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको दाबी गर्नुभयो ।
मन्त्री अर्यालले सोमवारदेखि लागू हुनेगरी कालो नम्बर प्लेट भएका सार्वजनिक सवारीलाई निर्वाधरुपमा सिंहदरबार छिर्न पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई बोकेर सिंहदरबार छिर्ने सार्वजनिक सवारी अब सिंहदबारमा नरोकिने बताउनुभयो ।
मन्त्री अर्यालले श्रम मन्त्रालयमा रहेको कल सेन्टरलाई नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित भएकाले समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले २४ घण्टा श्रम सहायता केन्द्रको रुपमा रुपान्तरण गरेको बताउनुभयो । उहाँले श्रमिकका गुनासो र समस्या सुन्नको लागि ६ महिनाभित्र श्रमाधान मोवालइल एप र श्रम सम्बन्धि सम्पूर्ण कार्यको टाइम कार्ड लागू गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्