१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने


195
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा सङ्घीय संसदमा पठाउने बताउनुभयो ।

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानको प्रभावकारीरुपमा कार्यान्वयनमा ध्यान दिने उल्लेख गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रियरुपमा नेपालको छवि बिग्रन नदिने बताउनुभयो ।

बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, मुख्य सचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।