
स्याङ्जा । स्याङ्जाको गल्याङस्थित एक विद्यालयले कृषि उपजको प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले नै उत्पादन गरेका तरकारी तथा फलफूल राखिएका छन् ।
तरकारी तथा फलफूल कुनै कृषकले फलाएको नभइ स्याङ्जाको गल्याङ नगरपालिका– ११ स्थित बज्रे माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले अतिरिक्त समयमा फलाएका हुन् ।

विद्यार्थीले उत्पादन गरेका तरकारी विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसर पारेर प्रदर्शनी गरिएको हो । यसबाट भएको आम्दानी विद्यार्थीकै कोषमा राखिने र विद्यार्थीकै लागि खर्च गरिने बताइएको छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने ६७ विद्यार्थीले ६ वटा टनेलमा तरकारी फलाएका हुन् ।
नेपालमा आर्थिक अभावका कारण विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिका र पढ्दापढ्दै बीचैमा पढाइ छोड्ने बालबालिकाका धेरै छन् । अर्कोतिर प्लस टू नसक्दासम्म घरको काम नै नगर्ने वातावरणमा पढ्ने बालबालिकाको संख्या पनि ठूलो छ । त्यसैले यस्ता कार्यक्रमले विद्यार्थीलाई काम गर्न र उत्पादित वस्तु बिक्री गर्न सिक्ने वातावरण प्रदान गर्नुका साथै विद्यार्थीमा सीप विकास र कामप्रतिको सम्मान बढ्ने विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैरेले बताउनुभयो ।

शैक्षिक पूर्वाधार विकाससँगै शैक्षिक सुधार कार्यक्रम गण्डकी प्रदेशको प्राथमिकतामा रहेको बताउँदै आफू सदैव यसमा लाग्ने गण्डकी प्रदेशकी आर्थिक मामिला मन्त्री सीता सुन्दासले बताउनुभयो ।
बज्रे माध्यमिक विद्यालयका विद्यार्थीलाई स्थानीय परिकार बनाउन सिकाउनुका साथै मगर समुदायको भेषभुषा र घरायसी कामका बारेमा विशेष शिक्षा दिइन्छ । यसले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुका साथै उनीहरुलाई आत्मनिर्भर र स्वावलम्बी हुन सिकाएको छ ।
प्रतिक्रिया दिनुहोस्