१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिउँ नपर्दा पर्यटन व्यवसायी मारमा


1.196k
Shares

तेह्रथुम । हिउँ नपरेका कारण यस वर्ष तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र सुनसान बनेको छ । हिउँ हेर्न र खेल्न पर्यटक नआएपछि यस क्षेत्रका पर्यटन व्यवसायी निराश भएका छन् ।

पर्यटकको चापले थेग्नै नसक्ने गरि ओइरो लाग्नु पर्ने सिजन हो यतिबेला टिएमजे क्षेत्रको । तर, तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा फैलिएको तिनजुरे मिल्के जलजले क्षेत्र हिउँ नपरेपछि सुनसान बनेको छ । खासगरी जाडो याममा हिउँ खेल्न नेपालका विभिन्न स्थानबाट यहाँ पर्यटकहरु आउने गर्दछन् । गुराँसको राजधानीको नामले चिनिएको यो ठाउँ पर्यटकहरुको मुख्य गन्तब्य हो ।

हिउँ परेको बेलामा नेपाल तथा छिमेकी देशबाट पर्यटकहरु ठूलो संख्यामा आउने गरेका छन् । तर, माघको तेश्रो साता बितिसक्दा पनि यस वर्ष हिउँ परेको छैन । हिउँ नपरेका कारण यस क्षेत्रमा पर्यटकीय चहलपहल शुन्य झै बनेको हो । गतबर्ष भने पुषको दोश्रो सातादेखि नै हिउँ परेको थियो । हिउँ पर्दा दैनिक तीन, चार हजारभन्दा बढी पर्यटक भित्रिने यसक्षेत्रमा अहिले फाट्टफुट्ट मात्रै आउने गरेका छन् । यस क्षेत्रको मुख्य आकर्षण भनेकै हिउँ र गुराँस हो । हिउँ हेर्न र खेल्नकै लागि यहाँ पर्यटकहरु आउने गरेका हुन् ।

धनकुटाको चित्रे, तेह्रथुमको चोलुङ पार्क, आरआर गार्डेन, पाथीभरा मन्दिर तिनजुरे, चौकी बजार पाँचपोखरी, गुफा पोखरी लगायतका क्षेत्रमा यतिबेला पर्यटकको संख्या निकै कम छ । हिउँ नपरेपछि पर्यटक नआउँदा व्यापार व्यवसाय नै शून्य भएको चित्रे बजारकी होटल व्यवसायी लेखाकुमारी अधिकारीको भनाइ छ ।

गतबर्ष पाँच पटक हिउँ पर्दा ४५ दिनको अन्तरालमा १० लाख आम्दानी भएपनि यसवर्ष हिउँ नपरेपछि व्यवसाय संकटमा परेको टुटेदेउरालीका श्री कार्कीले बताउनुभयो ।

हिउँ पर्दा यहाँका पहाड हिमाल झै सेताम्यै देखिने गरेका छन् । हिउँले सेता बनेका पहाड र गुराँसले राताम्यै बनेका वनहरुले पर्यटकलाई मोहित पार्ने गरेको हो । तर, यसबर्ष हिउँ नपरेपछि यहाँका पर्यटन व्यवसायी निराश भएका हुन् ।