
काठमाडौं । नाबालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
२०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ ।
आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्दामा पनि कसुर ठहर भएको छ भने सजाय निर्धारण गर्न भने बाँकी छ । आरोपित २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा छन् ।
२०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्