२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


म्याग्दीकाे बेनी-हाँडे भीर-बगरफाँट-बरंजा सडक कालोपत्रे हुने


91
Shares

म्याग्दी । म्याग्दीमा ट्याक खाेलिएको १६ वर्षपछि बेनी-हाँडे भीर-बगरफाँट-बरंजा सडक कालोपत्रे हुने भएकाे छ ।

सदरमुकाम बेनी हुँदै हाँडे भीर-बगरफाँट-सुर्केमेला-बरंजादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्रे हुने भएको हाे । जिसी निर्माण सेवाले स्तरोन्नतिको जिम्मा लिएको सोही सडकको २०६३ मा ट्याक मात्रै खोलिएको थियो । अहिले हाँडे भीरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गरिएको छ । सडकको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीको ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट ४ लाख ९५ हजार गरी कूल ५३ लाख रूपैयाँको लागतमा स्तरोन्नति गरिएको हो ।

त्यसैगरी बाँकी ८ किमी सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयाे । उहाँका अनुसार सोही सडक खण्ड अन्तर्गत नयाँ पुलमा १ सय मिटर, बाहुन डाँडामा ६ सय ५० मिटर र थामडाँडामा १ सय मिटर नयाँ ट्याक खोलिएको छ । सडकको मापदण्ड अनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुंगा सावित हुने स्थानीयवासीले बताएका छन् ।

साेही सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयाे । सडक कोलोपत्रे भएपछि यस क्षेत्रका करिब २० हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने स्थानीय समाजसेवी तीर्थबहादुर गुरुङले बताउनुभयाे ।