
डडेल्धुरा । डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने निर्णय गरेका छन्।
कोरोना महामारीले थला परेकाे व्यवसायमा थप आर्थिक मन्दीले व्यवसाय नै धरासायमा परेको भन्दै हार्डवेयर व्यवसायी संघ डडेल्धुराले यस्ताे निर्णय गरेकाे हाे । हार्डवेयर सामग्रीहरु उधारोमा नदिने निर्णय गरेको हार्डवेयर संघका अध्यक्ष लालमणी पन्तले हस्ताक्षर गरेकाे निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
विभिन्न निर्माण सामग्री उत्पादक तथा सप्लायर्सहरुले नगद कारोबारमा मात्र निर्यात तथा सामग्री उपलब्ध गराउने भएकाले सोही अनुरुप जिल्लाका व्यवसायीहरूले पनि नगद मात्र वा बैंक ग्यारेन्टीमा मात्र कारोबार गर्ने बताएका छन् । हार्डवेयरका सामान लैजाने पुराना ग्राहले निर्माणको सम्बन्धित निकायबाट भुक्तानी प्राप्त गरेर पनि हार्डवेयरको भुक्तानी नगर्दा, बजारमा आएको आर्थिक मन्दि र बैंकहरुले ऋण ब्याजमा अचाक्ली वृद्धि गरेका कारण बाध्य भएर उधारोमा कारोबार नगर्ने निर्णय गरिएको अध्यक्ष पन्तले बताउनुभयाे ।
बजारमा २० करोड भन्दा बढी उधारो गएकाे उहाँले बताउनुभयाे । सरकारले बजारमा आर्थिक गतिविधि हुने कुनै पनि काम नगरेका कारण व्यवसायीहरु मर्कामा परेकाे उहाँकाे तर्क छ । डडेल्धुरा हार्डवेयर व्यवसायी संघमा निर्माण सामग्री सम्बन्धित २२ जना सप्लायर्स व्यवसायीहरु आवद्ध रहेको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्