
डडेल्धुरा । डडेल्धुरामा उत्पादन बढाउन राज्यले कृषि र सिंचाईमा गरेको करोडौंको लगानी प्रतिफल विहीन भएकाे छ ।
वर्षौंदेखि राज्यले कृषि विकासका लागि सिंचाई सुविधा भन्दै जिल्लाका विभिन्न खेती योग्य जमिनको सुधार, रोजगारी र उत्पादन वृद्धिका लागि निर्माण गरेका साना सिंचाई योजनाहरुमा गरेका लगानी बालुवामा पानी जस्तै भएको हो । निर्माण भएका सिंचाई पोखरीहरु समेत संचालनमा आएका छैनन् ।
लाखौं रकमका दर्जनौं योजनाहरु स्थानीय किसानहरुले चासो नराख्दा बजेट कटौती हुनुका साथै उपयोग विहीन अवस्थामा रहेका छन् । जंगली जनावरका कारण र कृषिकर्मलाई प्राथमिकतामा नराख्दा गाउँका खेति योग्य जमिन बाँझो रहन थालेपछि डडेल्धुरा सदरमुकाम आसपासका गाउँमा कृषकहरुले खेती गर्न छाडेका मात्र नभई आर्थिक उपार्जनको वैकल्पिक बाटो अवलम्बन गर्न थालेका हुन् ।
गाउँमा कृषि गर्ने उचित वातावरण नहुँदा बसोबास पनि अनुकूल व्यवसाय अगाँल्दै सुविधा भएको स्थानमा सरेका कारण गाउँमा रहेका बिजुली बत्ती र खानेपानी सिंचाईका संरचनाहरु औचित्यहिन प्रमाणित भएको स्थानीय कृष धर्मराज रोश्यारा बताउनुभयाे । डेल्धुरामा मात्रै राजनीतिक पहुँच र भनसुनका आधारमा सयौं योजनाहरु प्रदेश सरकारबाट विनियोजन भएर आउँछन् ।
तर कतिपय योजना उपभोक्ता समिति गठनका लागि मात्र कार्यान्वयन भएको देखिंदा योजनाहरु अलपत्र हुने गरेको स्थानीयवासी बताउँछन् । संघीय, प्रदेश र स्थानीयसरकारबाट सिंचाई सुविधाका लागि बजेट विनियोजन गराउँने तर काम नगर्ने प्रवृति डडेल्धुरामा बढ्दै गइरहेकाले राज्यले योजना मागको आवश्यकतालाई सम्भाव्यता पूर्वअध्ययन, विश्लेषण र कार्य संचालन गर्नुपर्ने अपरिहार्य देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्